काठमाडौं,
आनन्दकुटि विहारका राजकीय पण्डित श्रद्धेय भिक्षु सरणंकर स्थविरले मज्झिम निकाय अन्तर्गत मज्झिमपण्णासकिय भिक्षु वर्गमा उल्लेखित राहुल कुमारलाई तथागतले आज्ञा गर्नुभएको अम्बलठिक राहुलवाद सूत्र बारे देशना दिनुभएको छ । आइतवार श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा गुँला पर्व विशेष धर्मदेशना दिने क्रममा श्रद्धेय भिक्षु सरणंकर स्थविरले राहुलवाद सूत्र बारे देशना दिनुभएको हो ।
अम्बलठिक राहुलवाद सूत्रमा भगवान बुद्धले बालबालिकाहरूको मानसिकतालाई बुझेर कस्तो किसिमका शिक्षाहरू दिनुपर्छ भन्ने बारेमा देशना दिनुभएको छ । सोही आइतवार श्रद्धेय भिक्षु सरणंकर स्थविरले अम्बलठिक राहुलवाद सूत्र बारे व्याख्या गर्नुभएको थियो । विभिन्न स्थानका श्रद्धालु उपासक-उपासिकाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा श्रद्धेय भिक्षु सद्धिबाट बुद्ध पूजा गरिएको थियो भने विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान गरिएको छ । यसैगरी गुँला पर्वको अवसरमा कीर्तिपुर स्थित नगरमण्डप श्री कीर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ । सो कार्यक्रम अन्तर्गत शनिवार श्रद्धेय भिक्षु सोमबाट शील प्रदानका साथै बुद्ध पूजा भएर मैत्री ध्यानको महत्वबारे धर्मदेशना गरिएको थियो ।
गुँला पर्वमा आयोजना गरिने धर्मदेशना सहितका कार्यक्रमहरूले नेपालको धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्न मद्दत पुग्ने गरेको छ । गुँला पर्वले नेवाः समुदायलाई धार्मिक आस्था र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण मूल्यको सम्झना गराउँछ । यसको संरक्षणले भविष्यमा पनि धर्म र संस्कृति जोगाउने कार्यलाई निरन्तरता दिन सहयोग पुग्नेछ ।