आनन्द कुटि विहारमा गुँला पर्वको अवसरमा असीति महाश्रावक चरित बुद्धकालीन महाश्रावकहरू बारेमा एक महिने धर्मदेशना सुरु।

img

काठमाडौं,
स्वयम्भुस्थित ऐतिहासिक आनन्द कुटि विहारमा गुँला पर्वको अवसरमा असीति महाश्रावक चरित बुद्धकालीन महाश्रावकहरू बारेमा एक महिने धर्मदेशना सुरु भएको छ । नेवाः बौद्ध धर्मावलम्बीहरूले एक महिना सम्म विविध धार्मिक अनुष्ठानहरूको आयोजना गरी धूमधामका साथ मनाइने गुँला पर्वको अवसरमा एक महिने गुँला पर्व विशेष धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो ।
शुक्रबार विहारको धम्महलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विहारका श्रद्धेय भिक्षुहरू सहित श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विहारका अध्यक्ष श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरद्वारा शील प्रदान, बुद्ध पूजा भएर धर्मदेशना गरिएको थियो । यसैगरी सोही कार्यक्रममा विहारको धम्महल उद्घाटन गरिएको छ । बौद्ध उपासक सर्वज्ञ रत्न कंसाकार, उपासिका चन्द्र देवी कंसाकार लगायत कंसाकार परिवारद्वारा निर्माण गरिएको सो हलको शुक्रवार उद्घाटन गरिएको हो । सर्वज्ञ रत्न कंसाकार र चन्द्र देवी कंसाकारका दिवंगत पिता आरजीवरत्न कंसाकार र माता मैचाँ लानी कंसाकारको पुण्य स्मृतिमा सो हलको उद्घाटन गरिएको हो । 
यसरी विहारको धम्महल निर्माण गरी विहारको शोभा बढाउनमा सहयोग पुगेको बताउँदै श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरले दाता परिवारप्रति साधुवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले कंसाकार परिवारको उत्साहजनक सहयोगले विहारलाई सांस्कृतिक र आध्यात्मिक गतिविधिका लागि थप सशक्त बनाएको बताउनुभयो । अन्त्यमा सम्पूर्ण सर्वसत्त्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदनका साथै दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।