काठमाडौं,
स्वयम्भुस्थित ऐतिहासिक आनन्द कुटि विहारमा गुँला पर्वको अवसरमा असीति महाश्रावक चरित बुद्धकालिन महाश्रावक बारे एक महिने धर्मदेशना सुरु भएको छ । नेवाः बौद्ध धर्मावलम्विहरुले एक महिना सम्म विविध धार्मिक अनुष्ठानहरुको आयोजना गरि धुमधामका साथ मनाइने गुँला पर्वको अवसरमा एक महिने गुँला पर्व विशेष धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो ।
शुक्रवार विहारको धम्महलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विहारका श्रद्धेय भिक्षुहरु सहित श्रद्धालुहरुको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा विहारका अध्यक्ष श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरद्धारा शिल प्रदान बुद्ध पुजा भएर धर्मदेशना भएको थियो । यसैगरी सोही कार्यक्रममा विहारको धम्महल उद्घाटन गरिएको छ । बौद्ध उपासक सर्वज्ञ रत्न कंसाकार उपासिका चन्द्र देवी कंसाकार लगायत कंसाकार स परिवारद्धारा निर्माण गरिएको सो हलको शुक्रवार उद्घाटन गरिएको हो । सर्वज्ञ रत्न कंसाकार र चन्द्र देवी कंसाकारका दिवंगत पिता आरजीवरत्न कंसाकार र माता मैचाँ लानी कंसाकारको पुण्य स्मृतिमा सो हलको उद्घाटन गरिएको हो ।
यसरी विहारको धम्महल निर्माण गरी विहारको शोभा बढाउनमा सहयोग पुगेको बताउनुहुदैं श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरले दाता परिवारप्रति साधुवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले कंसाकार परिवारको उत्साहजनक सहयोगले विहारलाई सांस्कृतिक र आध्यात्मिक गतिविधिका लागि थप सशक्त बनाएको बताउनुभयो ।