काठमाडौं,
बौद्ध विद्वान यज्ञमान पति बज्राचार्यद्वारा लिखित गुरु मण्डल एण्ड गुरु मण्डला नामक पुस्तक विमोचन गरिएको छ । शुक्रवार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो । नेपाल भाषामा लेखिएको सो पुस्तकलाई स्यामुएल एम ग्रिम्स र अलेक्जेन्डर जेम्स ओुनिलद्वारा अंग्रेजी भाषामा अनुवाद गरी शुक्रवार विमोचन गरिएको हो ।
सो पुस्तकमा गुरुको अर्थ र महत्व, गुरुको महत्वको क्षेत्र र सीमांकन, चेलाको परीक्षा, गुरु शिष्य परम्परा, मण्डलाको सीमाको अर्थ र महत्व, मण्डला पुस्ता, गुरु मण्डल लगायतका बारेमा विस्तृत रूपमा व्याख्या गरिएको छ । बौद्ध विद्वान यज्ञमान पति बज्राचार्यको जन्म विक्रम संवत १९९७ मा माता अष्टमाया बज्राचार्य र पिता भोजमानपति बज्राचार्यको जेठो सुपुत्रको रूपमा भएको थियो । बज्राचार्यद्वारा लिखित पुस्तकहरू मध्ये प्राचीन बज्राचार्य लिलावज्र, काष्ठमण्डपको नालीबेली निकै चर्चामा रहेका छन् । बौद्ध विद्वान बज्राचार्यले विगत तीस वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पाँच सयभन्दा बढी शिष्यहरूलाई वज्रयानको गहन शिक्षा प्रदान गर्दै आइरहनुभएको छ । उहाँले वज्रयान बौद्ध धर्मको विकास र विस्तार पुर्याउनुभएको योगदान स्वरूप उहाँलाई चौथो गोर्खा दक्षिण बाहु तथा सन् २०२४ को वर्ल्ड बज्राचार्य अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिसकिएको छ ।