काठमाडौं,
नेवाः बौद्ध धर्मावलम्बीहरूले एक महिना सम्म धुमधामका साथ मनाइने गुँला पर्व सुरु भएको छ। ऐतिहासिक स्वयम्भू महाचैत्यमा गुँला महिनाभर विशेष मेला लाग्ने गरेको छ। नेपाल मण्डलका विभिन्न स्थानका श्रद्धालुहरू गुँला बाजा बजाएर बिहानको झिसमिसेमा श्रद्धावान उपासक उपासिकाहरू स्वयम्भू पुग्ने गर्दछन्।
वर्षभरिमा दिवंगत भएका आफन्तहरूको नामबाट बाजा सहित चैत्यको परिक्रमा गरी यो पर्व मनाउने गरिएको छ। वर्षभरि दिवंगत भएका आफन्तको सुखावती भुवनमा बास होस् भन्ने कामना गरी उनीहरूका आफन्तले एक महिनासम्म स्वयम्भू महाचैत्य, बौद्ध स्तूप, सहित आफ्नो घर नजिकै रहेका विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ। सोही अनुरूप शुक्रवार बिहान सयौं श्रद्धालुहरूद्वारा गुँला बाजा सहित स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ। गुँला पर्व सुरु भएसँगै स्वयम्भू महाचैत्यमा महाचैत्यका पुजारी श्रद्धेय गुरु अशोक बुद्धाचार्यको मूलाचार्यमा गुँला पर्वको अवसरमा एक महिने चैत्य ब्रत र पूजा सुरु भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा श्रद्धावान उपासिकाहरू चैत्यको ब्रत बसी र पूजा गरिरहेका छन्। एक महिना सम्म हुने चैत्य ब्रत र पूजामा सहभागीहरूलाई श्रद्धेय गुरु अशोक बुद्धाचार्यले भगवान बुद्ध र हारती अजिमाको फरक फरक विषयमा दैनिक रूपमा कथा देशना हुने छ।
गुँला पर्वको अवसरमा स्वयम्भू महाचैत्यमा सवा लाख चैत्य बनाएर ब्रत बस्ने परम्परा अनुसार उपासिकाहरूले नियमित रूपमा ब्रत बसी श्रद्धेय अशोक गुरुको नेतृत्वमा चैत्य पूजा सुरु गरेका छन्। गुँलाथ्व पारु देखि सुरु भएको एक महिने चैत्य ब्रत र पूजा ञंलाथ्व पारुसम्म हुने छ। पूजाको पहिलो दिन पूजा समापन भएपश्चात श्रद्धेय गुरुलाई धर्मपूजा गरी अन्त्यमा पुण्यानुमोदन गरिएको थियो।