परम पुज्य गुरुपाद् श्रद्धेय विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीको ७६ औं जन्मोत्सव मनाइयो, श्रद्धेय रिन्पोछेको दीर्घायुको कामना गरी विविध पाठ।

img

काठमाडौं,
काठमाडौंको विशालनगर स्थित व्योम कुसुमा महाविहारका परम पुज्य गुरुपाद् श्रद्धेय विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे “रत्नश्री”को ७६ औं जन्मोत्सव मनाइएको छ । नेपाल मण्डल हुँदै तिब्बत पुगेको महायान वज्रयान बौद्ध परम्परालाई आफ्ना तिब्बती गुरुहरूसँग अध्ययन तथा अभ्यास गरेर पुनः नेपाल मण्डलमा जस्ताको त्यस्तै ल्याई प्रचार–प्रसार गरिरहनु भएका रिन्पोछेको बिहीबार ७६ औं जन्मोत्सव मनाइएको हो । 
७६ औं वर्षमा पदार्पण गरिरहनु भएका रिन्पोछेको सुस्वास्थ्य दीर्घायुको कामना गरी व्योम कुसुमा महाविहारमा व्योम कुसुमा बुद्धधर्म संघको आयोजनामा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा बिहानको समयमा विभिन्न गुम्बाबाट पाल्नु भएका श्रद्धेय लामाहरू, श्रद्धेय आनीहरूद्वारा विहारको धम्मकक्षमा गुरुको दीर्घायुको लागि दीर्घायु पाठ, विभिन्न बाधा निवारण गर्ने पाठ सहित विविध पाठ गरिएको थियो । यसैगरी दिउँसोको कार्यक्रममा विहारका प्रमुख आचार्य धर्मधर नारायण प्रसाद रिजाल, संघका अध्यक्ष मुकुन्द विष्ट सहित संघबन्धुहरू, तथा श्रद्धावान उपासक उपासिकाहरूले रिन्पोछेको दीर्घायुको कामना गरी मण्डल अर्पण गर्नुभएको थियो । जन्म दिनको अवसरमा आफूलाई शुभकामना दिन आउने सबै संघबन्धुहरूलाई श्रद्धेय रिन्पोछेले आशीर्वाद सहित धन्यवाद दिनुभयो । 
हिमाली वज्रयान बौद्ध परम्पराका ञिङ्मा, साक्या, काग्यु परम्पराका विभिन्न उच्चतम गुरुहरूबाट महायान वज्रयान बौद्ध परम्पराका आगम तथा अभिषेकहरू प्राप्त गरी अभ्यास गरिरहनु भएका रिन्पोछेले नेपाली भाषीहरूलाई सरल तथा सबैले बुझ्ने भाषामा बौद्ध शिक्षा प्रचार–प्रसार गरिरहनुभएको छ । बोधि टेलिभिजन परिवार श्रद्धेय रिन्पोछे रत्नश्रीको ७६ औं शुभजन्मोत्सवको उपलक्ष्यमा श्रद्धेय गुरुको सुस्वास्थ्य एवम् दीर्घायुको मंगलमैत्री शुभकामना व्यक्त गर्दछौं ।