काठमाडौं,
स्वयम्भूको किमडोल स्थित श्रद्धेय डा.धम्मविजया गुरुमां प्रमुख रहनुभएको निर्वाणमूर्ति विहारमा संघदान गरिएको छ।
सो विहारमा नियमित रूपमा हरेक महिनाको ७ गते श्रद्धेय भिक्षुहरूलाई आमन्त्रण गरी संघदान गरिँदै आएको छ । यसै क्रममा बुधवार आनन्दकुटि विहारका श्रद्धेय भिक्षुहरूको उपस्थितिमा बुद्ध पूजा, धर्मदेशना, परित्राण पाठ, र संघदान गरी पुण्यानुमोदन गरिएको हो । बुधवार भएको कार्यक्रममा श्रद्धेय भिक्षु अस्सजी स्थविरबाट बुद्ध पूजाका साथै शील प्रदान भई संघदानको पुण्यबारे धर्मदेशना दिनुभएको थियो ।
धर्मदेशना पश्चात् श्रद्धेय भिक्षुलाई धर्मपूजा प्रदान गरिएको थियो । कार्यक्रममा दिवंगतहरूको सम्झनामा पुण्यानुमोदन गरिएको थियो भने अन्त्यमा श्रद्धेय भिक्षु, विभिन्न विहारका श्रद्धेय गुरुमांहरू, विहार आवासीय श्रद्धेय गुरुमांहरूलाई उपासक उपासिकाहरूद्वारा सामूहिक रूपमा दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो । संघदान भन्नाले भिक्षुसंघलाई आवश्यक सामग्री वा आर्थिक सहयोग प्रदान गर्ने दान–पुण्य कर्म हो ।