प्राचीन शाक्य गणराज्य राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारी प्रयास तत्कालका लागि विफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४७ औँ सेसनमा भाग लिन संघीय पर्यटनमन्त्री बद्री पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा, कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोली फ्रान्स पुगेको थियो। युनेस्कोको ४७ औँ सेसनमा छलफल गरिए पनि तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको हो।
युनेस्कोको ४७ औँ बैठकमा सहभागी सदस्य सबै राष्ट्रले इकोमोसको प्रतिवेदनलाई समर्थन जनाएपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास असफल भएको हो। इकोमोसको प्रतिवेदनमा तिलौराकोटलाई सम्पदा सूचीमा राख्ने प्रस्ताव भएको थिएन। इकोमोसको प्रस्तावमाथि बैठकमा सहभागी कुनै पनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव हालेको भए तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव पेस हुन सक्ने जनाइएको छ। नेपालको पक्षबाट यसबारे कूटनीतिक पहल कमजोर हुँदा त्यो सम्भव नभएको स्रोतले जनाएको छ। प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट भगवान बुद्ध हुर्कनु भएको र उहाँले २९ वर्षसम्मको उमेर बिताउनुभएको ऐतिहासिक एवं पुरातात्त्विक स्थल हो। राजा शुद्धोधनको दरबार र भगवान बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सन् १९९६ देखि नै प्रमाण र आधारहरू जुटाउन प्रयास थालिएको थियो। युनेस्को जापानीज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत डरहम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्त्विक उत्खननपछि पर्याप्त आधार र प्रमाणहरू जुटाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको थियो।
उत्खननको क्रममा फेला परेका पुरातात्त्विक वस्तुहरूको वैज्ञानिक अनुसन्धान र अध्ययनको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातत्त्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका थिए। हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन्। विश्व सम्पदामा सूचीकृत गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार भने २१ वटा राष्ट्रलाई मात्र छ। तिनै २१ वटा राष्ट्रहरूको ४७ औँ सेसन फ्रान्समा बसेको थियो।