श्रीधर रिन्पोछेको जन्मोत्सवमा तारा पूजा तथा दीर्घायुको कामना।

img

काठमाडौं,
काठमाडौं विशालनगर स्थित व्योम कुसुम महाविहारका शरणनायक परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको जन्मोत्सवको अवसरमा तारा पूजा गरिएको छ। आइतवार श्रद्धेय रिन्पोछे रत्नश्रीको सुस्वास्थ्य एवम् दीर्घायुको मंगल कामना गरी वज्रयान बौद्ध परम्पराअनुसार श्रद्धेय गुरुज्यू विकास वज्राचार्यको नेतृत्वमा तारा पूजा गरिएको हो। 
तारा पूजाको माध्यमबाट निरोगी हुने, आत्मसन्तुष्टि बढ्ने, जीवनमा आइपर्ने विघ्नवाधाहरू हटेर जाने भएका कारण श्रद्धेय रिन्पोछे रत्नश्रीको जन्मोत्सवको अवसरमा सप्तविधानोत्तर तारा पूजा गरिएको हो। सो क्रममा पुष्पतारा, धूपतारा, दीपतारा, गन्धतारा सहित पञ्चताराहरूलाई आह्वान गरी तारा पूजा गरिएको थियो। श्रद्धेय रिन्पोछे रत्नश्रीको शुभ जन्मोत्सवको अवसरमा महाविहारमा विभिन्न अनुष्ठानहरूको आयोजना हुँदै आइरहेको छ। सोही क्रममा आइतवार श्रद्धेय रिन्पोछे रत्नश्री र श्रद्धेय गुरुआमाको समुपस्थितिमा सप्तविधानोत्तर तारा पूजा गरिएको हो।
तत्कालीन डिआइजी नरनारायण शमशेर जंग बहादुर राणा र शान्ति राणाको पहिलो सुपुत्रको रूपमा राणा खानदानमा विक्रम संवत २००६ सालमा जन्मिएका श्रद्धेय रिन्पोछे रत्नश्रीले दग्छेन रिन्पोछे, परम पावन पेनोर रिन्पोछे, टुल्कु उर्गेन रिन्पोछे, छोग्ये छोक्लिङ रिन्पोछे, थ्राङ्गु रिन्पोछे, परम पावन ४१औँ साक्य त्रिजिन रिन्पोछे, खेन्पो रिन्पोछे, कर्मा थिन्ले रिन्पोछे, ज्याद्रेल रिन्पोछे, पाओ रिन्पोछे र डिल्गो ख्येन्त्से रिन्पोछेजस्ता प्रसिद्ध गुरुहरूबाट हिमाली वज्रयान तथा महायान परम्परा अनुसार उच्चकोटीका आगम तथा अभिषेकहरू प्राप्त गरिसक्नुभएको छ। हिमाली वज्रयान बौद्ध परम्पराका ञिङ्मा, साक्य, काग्यु परम्पराका विभिन्न उच्चतम गुरुहरूबाट महायान वज्रयान बौद्ध परम्पराका आगम तथा अभिषेकहरू प्राप्त गरी अभ्यास गरिरहनु भएका रिन्पोछेले नेपाली भाषीहरूलाई सरल तथा सबैले बुझ्ने भाषामा बौद्ध शिक्षा प्रचार–प्रसार गरिरहनुभएको छ।