काठमाडौं,
नेपाल संवत ११४५ दिल्लागा सप्तमीका अवसरमा धर्मकिर्ति विहारमा बुद्ध पूजा सहित धर्मदेशना कार्यक्रमको आयोजना गरिएको छ। बिहीबार विहारको धम्मकक्षमा श्रद्धेय गुरुमाँहरू सहित श्रद्धालुहरूको उपस्थितिमा बुद्ध गुण, धर्म गुण र संघ गुण स्मरण गरी वाक्, काय र चित्तलाई शुद्ध गरी सामूहिक रूपमा बुद्ध पूजा गरिएको थियो।
श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको सो विहारमा बुद्ध धर्म र बुद्ध शिक्षाको विकास र विस्तार गर्ने पुण्य हेतुले प्रत्येक महिनाको संक्रान्ति, औंसी, पूर्णिमा र अष्टमी गरी पाँच पटक नियमित रूपमा धार्मिक अनुष्ठानको आयोजना हुँदै आइरहेको छ। सोही सिलसिलामा बिहीबार संक्रान्तिको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो। संक्रान्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा विहारका आवासीय श्रद्धेय जवनवती गुरुमाँको नेतृत्वमा शील प्रार्थनाका साथै बुद्ध पूजा भएर मैत्री सूत्रबारे धर्मदेशना भएको थियो।
भगवान बुद्धका उपदेश, व्याख्या र बुद्ध धर्मका सिद्धान्त अहिले संसारमा व्यापक रूपमा फैलिरहेको छ। जसका कारण भगवान बुद्धले प्रतिपादन गर्नुभएको ध्यान, बुद्ध शिक्षा र बुद्ध दर्शनप्रति विभिन्न क्षेत्रका मानिसहरूको आकर्षण बढ्दो रूपमा रहेको छ। यसरी विहारमा आयोजित बुद्ध पूजा सहित धर्मदेशना कार्यक्रमको माध्यमबाट संसारभर बुद्ध धर्म, बुद्ध दर्शन र बुद्ध शिक्षा फैलाउनमा सहयोग पुगिरहेको छ।