काठमाडौँ,
भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा अवस्थित राजकीय बुद्ध विहारमा वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ। सो विहारका प्रमुख श्रद्धेय भिक्षु सागरधम्मबाट भगवान बुद्धका शिक्षाहरूको संरक्षण एवम् प्रचार–प्रसार गर्नुका साथै व्यक्तिगत रूपमा पनि आध्यात्मिक विकासलाई निरन्तरता दिने कार्यहरू हुँदै आइरहेका छन्। यही परम्पराको निरन्तरतास्वरूप विहारमा श्रद्धेय भिक्षुको प्रमुखत्वमा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ। श्रद्धेय भिक्षु सागरधम्म महास्थविर सो विहारमा वर्षावास बस्नुभएको उपलक्ष्यमा लुम्बिनी बौद्ध महिलाको आयोजनामा हरेक दिन वर्षावास विशेष धर्मदेशना कार्यक्रम आयोजना भइरहेको छ।
वर्षावासको प्रचलनअनुसार भिक्षुहरू विहारमा वर्षावासमा रहँदा दिनहुँ बुद्ध पूजा, ध्यान साधना, परित्राण, धर्मदेशना लगायत भगवान बुद्धले सिकाउनु भएका ज्ञानहरू अध्ययन गर्ने गर्नुहुन्छ। बुद्धकालीन समयदेखि नै तीन महिनाको अवधिभित्र एउटै विहारमा बसेर ध्यान साधना र अध्ययन गर्ने प्रचलन रहेको छ। सोही बमोजिम श्रद्धेय भिक्षु सागरधम्म महास्थविरबाट दैनिक बुद्ध पूजा, ध्यान अभ्यास, धर्मदेशना सहित विविध धार्मिक कार्यक्रमहरूको आयोजना हुँदै आइरहेको छ।