काठमाडौँ,
धर्मकीर्ति विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमाँको ९२ औं जन्मोत्सवको उपलक्ष्यमा धम्मवती धम्म प्रशिक्षणद्वारा त्रिदिवसीय पट्ठानपाली पाठको आयोजना गरिएको छ। भगवान बुद्धद्वारा पहिलो पटक देशना भएको अति गम्भीर र महत्वपूर्ण पिटक अभिधम्म पिटकको सातौं ग्रन्थ पट्ठानपाली पाठ कार्यक्रम गत सोमबारबाट सुरु भएको थियो।
अभिधम्मलाई बचाइराख्ने, बुद्ध धर्म र शिक्षालाई विकास र विस्तार गर्दै जाने पुण्य हेतुले श्रद्धेय धम्मवती गुरुमाँले विक्रम संवत २०५५ सालदेखि आफ्नो जन्मोत्सवको अवसरमा अभिधम्मपाठ कार्यक्रमको आयोजना गर्दै आइरहनुभएको छ। जन्मोत्सव बाहेक विभिन्न समयमा सो विहारमा पट्ठानपाली पाठ वाचन हुँदै आइरहेको छ। पट्ठानपाली ग्रन्थमा हेतुपच्चय, आरम्मणपच्चय, अधिपतिपच्चय, अनन्तरपच्चय, समनन्तरपच्चय लगायतका सूत्रहरू रहेका छन्। सोही सूत्रहरूको बुधवार सामूहिक रूपमा पाठ गरिएको थियो। अभिधम्मपिटकमा भगवान् बुद्धले चित्त चेतसिकको बारेमा देशना दिनुभएको अति गम्भीर उपदेशहरू समावेश गरिएका छन्। ती उपदेशहरूलाई अभिधम्ममा ७ भागमा विभाजन गरिएको छ।
जसमध्ये पट्ठानपाली ग्रन्थ अभिधम्मपिटकमा समावेश भएका सात महत्वपूर्ण ग्रन्थहरूमध्ये एक महत्वपूर्ण ग्रन्थ हो। पट्ठानमा प को अर्थ विभिन्न प्रकार र ठ्ठान को अर्थ प्रत्यय कारण भन्ने रहेको छ। विभिन्न प्रकारका प्रत्ययशक्ति र शक्ति भएका प्रत्ययहरू देखाइएको ग्रन्थलाई नै पट्ठान भनिन्छ। यस पाठमा २४ प्रकारका हेतु र प्रत्ययहरूको सूक्ष्म विश्लेषण गरिएको छ।