काठमाडौँ,
शाक्यधिता नेपालको आयोजनामा धर्मकीर्ति विहारमा परियत्ती कक्षाको प्रभावकारी शिक्षण कलाको आयोजना गरिएको छ। सोमबार धर्मकीर्ति विहारको धम्मकक्षमा आयोजित उक्त कार्यक्रम शासनधज् धम्माचारिय अग्गमहागन्थवाचक पण्डित भाषाथुवाः, धर्मकीर्ति विहारकी प्रमुख श्रद्धेय धम्मवती गुरुमांको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सो कार्यक्रम सोसाइटी फर अरवन पोरको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। परियत्ती शिक्षालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने तथा यो शिक्षालाई आम जनसमुदायसम्म पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। शाक्यधिता नेपालले वि.सं। २०८० सालदेखि आफ्नै नेतृत्वमा बौद्ध परियत्ती कक्षा सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रममा शाक्यधिता नेपालकी अध्यक्ष तथा सोही विहारकी आवासीय श्रद्धेय इन्दावती गुरुमां, शाक्यधिता नेपालका सह(सचिव नानी केशरी बज्राचार्य, श्रद्धेय गुरुमाँहरू, परियत्ती प्रशिक्षकहरू, शाक्यधिता नेपालका पदाधिकारीहरू लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। शाक्यधिता नेपालले महिलाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। महिलाहरूका लागि स्वास्थ्य, शिक्षा तथा उद्घोषण तालिम प्रदान गर्नुका साथै बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बौद्ध परियत्ती शिक्षा प्रदान गर्ने, गुरुमाँहरूको योगदानका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ।