करुणा हस्तलेखन तालिम केन्द्रमा प्रथम हस्तलिखित तथा चित्र प्रदर्शनी कार्यक्रमको आयोजना।

img

काठमाडौं,
करुणा हस्तलेखन तालिम केन्द्रमा प्रथम हस्तलिखित तथा चित्र प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ। चन्द्रागिरी नगरपालिका, बलम्बुस्थित करुणा हस्तलेखन तालिम केन्द्रले बौद्ध कला र बौद्ध संस्कृतिका कलात्मक पक्षहरू उजागर गर्ने मुख्य उद्देश्यका साथ प्रथम हस्तलिखित तथा चित्र प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रममा सहभागीहरूले बौद्ध धर्मग्रन्थमा समावेश सूत्रहरू एवं देशनाहरू चित्रण गरेका कलाकृतिहरू प्रदर्शनी गरिएको थियो।
यस्तै, सहभागीहरूले वाटरकलर र कलममार्फत भगवान बुद्धद्वारा देशना गरिएका बौद्ध सूत्रहरू कोरेका थिए। यसरी बुद्ध उपदेशलाई कलात्मक रूपमा कापीमा उतारेर जीवन्त बनाउन पाउँदा खुसी लागेको सहभागीहरूले बताएका छन्। सो कार्यक्रममार्फत आधुनिक प्रविधिका कारण हराउँदै गएको हस्तलेखन कलालाई पुनर्जीवित गर्न र चित्रकला तथा हस्तकलामार्फत भगवान बुद्धका शिक्षाहरूलाई संसारभर फैलाउन सहयोग पुग्ने विश्वास श्रद्धेय भिक्षु मंगल महास्थविरले जानकारी दिनुभयो। चित्रकलामार्फत समाजमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने, स्थानीय युवालाई सिर्जनशील मञ्च उपलब्ध गराउने, बालबालिकाको प्रतिभा विकास गर्ने, र सामुदायिक स्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वासका साथ सो कार्यक्रम आयोजना गरिएको हो।