काठमाडौं,
कार्यक्रमको आठौं दिन विहारको धम्मकक्षमा विहानैदेखि ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो भने भजनपश्चात डुप्गोन जाङछोब छोयलिङ गुम्बाका श्रद्धेय लामागुरुहरूबाट श्रद्धेय गुरुमांको सु(स्वास्थ्य एवं दीर्घायुको कामना गर्दै मंगलपाठ गरिएको थियो। त्यस लगत्तै नेपाल परम्परागत बौद्ध धर्मसंघका अध्यक्ष तथा बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर श्रद्धेय प्राध्यापक डाक्टर नरेशमान बज्राचार्य सहित श्रद्धेय गुरुजुहरूबाट बज्रयान परम्परा अनुसार पाठ गरिएको थियो।
कार्यक्रममा श्रद्धेय नरेश गुरुजुले श्रद्धेय धम्मवती गुरुमांले बौद्ध सासानिक क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदान र गुरुमांको दिव्य ज्ञानबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो। सो क्रममा उहाँले महायान सूत्रमा समावेश सद्धर्मपुण्डरीक सूत्रमा उल्लिखित बुद्धयानको विषयमा श्रद्धेय गुरुमांले दशकौँ अघि प्रकाश पार्नु भएको स्मरण गर्दै गुरुमांमा नयाँ नयाँ ज्ञानको खोज र आविष्कार गर्न सक्ने अद्भुत क्षमता रहेको बताउनुभयो। यसैगरी, उहाँले महासद्धम्मज्योतिध्वज धम्माचार्य अग्गमहागन्थवाचक पण्डित श्रद्धेय धम्मवती गुरुमांको ज्ञान र करुणाले बौद्ध अभ्यासमा नयाँ आयाम थप्न र बौद्ध दर्शनको गहिराइ बुझ्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। श्रद्धेय धम्मवती गुरुमांको ज्ञान–करुणाभाव र सरल प्रवचन शैलीले बौद्ध अभ्यासमा नयाँ आयाम थप्दै बौद्ध दर्शनको गहिराइ बुझ्न उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ भने श्रद्धेय गुरुमांद्वारा प्रकाशन गरिएका कृतिहरूका माध्यमबाट श्रद्धालुहरूमा सदैव बुद्ध ज्ञानसहितको करुणा र परोपकारी भावनाको विकास हुँदै आएको छ।
आफ्नो सम्पूर्ण जीवन बौद्ध सासानिक क्षेत्रमा समर्पण गर्दै आउनु भएकी श्रद्धेय धम्मवती गुरुमांले सधैंभरी यसरी नै हामीलाई निरन्तर रूपमा बुद्ध शिक्षा प्रदान गरिरहन सकुन् भन्ने मंगलकामनासहित बोधि टेलिभिजन परिवार श्रद्धेय गुरुमांको ९२ औं शुभजन्मोत्सवको उपलक्ष्यमा गुरुमांको सु(स्वास्थ्य तथा दीर्घायुको मंगलमैत्री कामना गर्दछ।