बुद्ध प्रकाश फाउन्डेसन बोधि गृह स्वयम्भुमा कल्पना पराजुलीबाट ध्यान तथा साधना प्रशिक्षण सम्पन्न ।

img

काठमाडौं,
बोधि हाउस स्वयम्भूमा कल्पना पराजुलीबाट ध्यान तथा साधना प्रशिक्षण भएको छ। बुद्ध प्रकाश फाउन्डेसन बोधि गृह स्वयम्भूमा कल्पना पराजुलीबाट शुक्रवार साँझ ध्यान तथा साधना प्रशिक्षण भएको छ।
बुद्ध प्रकाश फाउन्डेसनले बुद्ध शिक्षा सङ्गै ध्यानको अभ्यासलाई सर्वसुलभ बनाएर नेपाली समाज र विशेषगरी नेपाली भाषीहरूलाई लक्षित गरी विभिन्न स्थानहरूमा बौद्ध धर्म सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यसै शिलशिलामा प्रशिक्षक कल्पना पराजुलीबाट ध्यान प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। शुक्रवार उहाँले ध्यान गर्नुको महत्व, फाइदा र आफ्नो अनुभवसँगै तिब्बती बौद्ध धर्मका एक महान योगी सिद्ध पुरुष मिलारेपाको बारेमा बताउनुभएको थियो। उहाँले हामीमा सचेतता अत्यन्तै महत्वपूर्ण हुने बताउनुहुँदै, शारीरिक–मानसिक रूपमा स्वस्थ रहनका लागि सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, नियमित ध्यान अभ्यास आवश्यक रहेको बताउनुभयो। यस्ता किसिमका अभ्यासहरूले अनुशासन विकास गरी ऊर्जा बढाउने र समग्र कल्याणदायी, शान्त र सन्तुष्ट जीवनको लागि सहयोग पुग्ने बताउनुभयो। 
कार्यक्रममा सहभागी स्मृति घिमिरेले ध्यान प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँदा ध्यान गर्ने विधि र दैनिक जीवनमा ध्यानको महत्वबारे थप जानकारी प्राप्त भएको बताउनुभयो। कार्यक्रममा सहभागी र ध्यान प्रशिक्षक कल्पना पराजुलीबीच ध्यान अभ्यासको आवश्यकता र महत्वबारे अन्तरक्रिया भएको थियो। बुद्ध प्रकाश फाउन्डेसनमा प्रत्येक शुक्रवार निःशुल्क ध्यान अभ्यास कार्यक्रम हुँदै आएको छ।