लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो, तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अन्तिम चरणमा ।

img


बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ। फ्रान्सको पेरिसमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो।
बुल्गेरियाका प्रोफेसर निकोले नेनोभको अध्यक्षतामा पेरिसमा सञ्चालन भईरहेको बैठकले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो। यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमोसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मोनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो। दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो। पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसन चलिरहेको छ। आउँदो बुधबार उक्त सेसन समापन हुनेछ। साथै गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ। बैठकमा नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको टोली सहभागी छ। यस्तै, विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट–कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो। अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत रूपमा प्रक्रिया अगाडि बढेको हो।