काठमाडौं,
ललितपुरमा अवस्थित अक्षयश्वर महाविहारमा दुई दिवसीय चित्रकला कार्यशाला सुरु भएको छ। अक्षयश्वर परम्परागत बौद्ध कला महाविद्यालय अन्तर्गत “अक्षयश्वर विद्यार्थी मञ्च” समूहद्वारा बुधवारदेखि दुई दिवसीय चित्रकला कार्यशालाको आयोजना गरिएको हो। कार्यक्रममा शान्ति र करुणालाई आधार मानेर २० प्रतिस्पर्धीहरूले चित्रहरू कोरिरहेका छन्। यस्तै, शान्ति र करुणालाई चित्रकलामार्फत अभिव्यक्त गर्ने र बौद्ध दर्शनमा आधारित करुणाभाव प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको हो।बौद्ध चित्रकलाको ऐतिहासिक मौलिकता र समसामयिक शैलीलाई संयोजन गर्दै नयाँ रचनात्मक मार्ग खोज्न पाएकोमा खुशी लागेको सरोज महर्जन बताउनुहुन्छ।
सो कार्यक्रमको माध्यमबाट शान्ति र करुणा भावनालाई चित्रकलामा उतारेर बुद्ध दर्शनमा आधारित मानवीय करुणाभाव प्रवर्द्धन गर्न सहयोग पुग्ने र पौभा चित्रकला संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। चित्रकलामार्फत संसारभर शान्ति र करुणाको भावना जागृत गराउन सकियोस् भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रम बिहीबार सम्पन्न हुनेछ।