दिवंगत श्रद्धेय भिक्षु डाक्टर ज्ञानपूर्णिक महास्थविरको गुणानुस्मरणमा अभिधम्म मात्रिका पाठको आयोजना ।

img

काठमाडौं,
नेपालका सातौँ संघनायक धम्माचार्य तथा अग्गमहा पण्डित दिवंगत श्रद्धेय भिक्षु डाक्टर ज्ञानपूर्णिक महास्थविरको गुणानुस्मरणमा अभिधम्म मात्रिका पाठ सहित विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौं बानेश्वरस्थित विश्व शान्ति विहारमा संस्थापक दिवंगत श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरको ५ औँ वार्षिक पुण्य तिथिमा अभिधम्म मात्रिका पाठ सहित विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । मंगलवार विश्व शान्ति विहारमा आयोजित कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर, भिक्षु महासंघका कोषाध्यक्ष एवम् विश्व शान्ति विहारका प्रमुख बोधिज्ञान महास्थविर, सचिव श्रद्धेय भिक्षु निग्रोध महास्थविर, सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू सहित श्रद्धालुहरूको सहभागिता रहेको थियो । 
सो क्रममा कार्यक्रममा संसारका कुनाकुनामा बुद्धधर्म फैलाउन सफल दिवंगत श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरको सुगति सहित निर्वाणको कामना गरी उहाँको तस्वीर अगाडि दीप प्रज्वलन सहित पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । सोलगत्तै कार्यक्रममा सामूहिक अभिधम्म मात्रिका पाठ गरिएको थियो । वि।सं। १९९६ मंसिर ६ गते पाल्पा सदरमुकाम तानसेनमा जन्मनुभएका उहाँको गृहस्थ नाम हिरालाल शाक्य हो । तानसेनको टक्सारस्थित शील पाठशालामा प्रारम्भिक शिक्षा अध्ययन गर्नुभएका उहाँले श्रद्धेय भिक्षु बुद्धघोषको छत्रछाया र सामीप्यमा रही केही वर्ष बुद्धशिक्षा र पाली भाषाको प्रारम्भिक ज्ञान लिनुभएको थियो । १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्च शिक्षा त्रिपिटक अध्ययनका लागि भारत हुँदै बर्मासम्म पुग्नुभएका उहाँले सन् १९५६ अगस्ट १५ का दिन बर्माका अग्गमहा पण्डित भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दीक्षा लिएपछि हिरालाल शाक्य श्रावक ज्ञानपूर्णिक का नामबाट बुद्धशासनमा प्रवेश गर्नुभएको थियो । बर्मामा ११ वर्षसम्म रहेर दिवंगत भिक्षु ज्ञानपूर्णिकले सन् १९६३ मा शासनध्वज धम्माचार्य उपाधि पाउनुभयो । बर्माको इतिहासमा पाली शिक्षामा धम्माचार्य प्राप्त गर्ने पहिलो विदेशी नेपालकै धम्मावती गुरुमाँ हुनुहुन्छ भने भिक्षुमा ज्ञानपूर्णिक नै हुनुभएको हो । उहाँले बौद्ध साहित्यका ६० भन्दा बढी ग्रन्थ लेखन, अनुवाद तथा सम्पादन गर्नुभएको छ भने सन् १९८४ देखि १९८८ को अवधिमा मलेसिया, जापान, साइबेरिया, इन्डोनेसिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड तथा अस्ट्रेलिया सम्म पुगी भगवान बुद्धका जीवनोपयोगी शिक्षा र ध्यानबारे प्रचार–प्रसार गर्नुभएको थियो । थेचोस्थित बेलुवनाराम विहार, मंगलबजार पटकोस्थित मणिमण्डप विहार र बानेश्वरमा रहेको विश्व शान्ति विहार भिक्षु ज्ञानपूर्णिकले नै स्थापना गर्नुभएको हो । शंखमूलमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको स्थापनामा पनि उहाँको भूमिका छ । नेपालमा बुद्धशिक्षा परियत्ति विकासका लागि उहाँले परीक्षा नियन्त्रक, शिक्षाध्यक्ष लगायत विभिन्न पदमा रही ५० वर्षसम्म निरन्तर योगदान पुर्‍याउनुभएको थियो । 
छैटौँ संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसानपछि २०७६ वैशाख १ गते ज्ञानपूर्णिक नेपालको सातौँ संघनायकका रूपमा पदासीन हुनुभयो । पछिल्लो चरणमा सन् २०१९ मा नेपाल सरकारको तर्फबाट उहाँलाई परमपूज्य पदबाट सम्मानित पनि गरिएको थियो । लामो समयदेखि मधुमेह रोगबाट पीडित दिवंगत भिक्षुको विक्रम संवत २०७७ असार १९ गते देहावसान भएको थियो । बोधि टेलिभिजन परिवार दिवंगत भिक्षु डाक्टर ज्ञानपूर्णिक महास्थविरको सुगति सहित निर्वाण कामना गर्दछ ।