धर्मकिर्ति विहारमा साप्ताहिक रुपमा आयोजित अभिधर्म पाठ जारी, चौथो दिन पुग्गलपञ्ञतीपाली पाठ वाचन ।

img

काठमाडौं,
धर्मकिर्ति विहारमा जारी साप्ताहिक अभिधर्म पाठ कार्यक्रम अन्तर्गत मंगलबार पुग्गलपञ्ञतीपाली पाठ भएको छ । धर्मकिर्ति विहारका प्रमुख श्रद्धेय धम्मावती गुरुमांको ९२ औं शुभ जन्मोत्सवको अवसरमा आयोजित साप्ताहिक अभिधर्म पाठको चौथो दिन पुग्गलपञ्ञतीपाली पाठ वाचन गरिएको हो ।
अभिधर्म ग्रन्थको सात प्रकरण मध्ये चौथो ग्रन्थ पुग्गलपञ्ञती हो । पालिभाषामा पुग्गल भनेको व्यक्तिहरु र पञ्ञती भनेको ती व्यक्तिहरुको परिचय भन्ने बुझाउँदछ । पुग्गलपञ्ञतीमा संसारभरी जतिपनि मानिसहरु छन् ती मानिसहरुको चरित्र, मनोविज्ञान र स्वभावबारे देशना गरिएको छ । आज भन्दा करिब २६०० वर्ष अगाडि भगवान बुद्धले संसारभरीका मानिसहरुको ३९४ स्वभाव र १४७ समूह हुन्छ भनेर पुग्गलपञ्ञतीमा व्याख्या गर्नुभएको छ र सोही मानिसहरुको चरित्र, मनोविज्ञान र स्वभावबारे पुग्गलपञ्ञतीमा व्याख्या गरिएको छ । सो कार्यक्रममा श्रद्धेय भिक्षु मंगल महास्थविरबाट अभिधर्मको महत्वबारे र श्रद्धेय भिक्षु पियरतनबाट पुग्गलपञ्ञतीपाली बारे धर्मदेशना भएको थियो भने श्रद्धेय भिक्षु भद्दिय महास्थविरको नेतृत्वबाट पुग्गलपञ्ञतीपाली पाठ भएको थियो ।
श्रद्धेय धम्मावती गुरुमांको जन्मोत्सवको अवसरमा आयोजना गरिएको साप्ताहिक अभिधर्मपाठको प्रत्येक दिन बोधि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । भौतिक रुपमा उपस्थित हुन नसक्नु भएका श्रद्धालुहरुले बोधि टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरेर पुण्य लाभ लिन सक्नुहुनेछ ।