सरोकारवालाको अभिमुखीकरण तालिम सम्पन्न ।

img

लुम्बिनी, रुपन्देही 
 ‘शुद्ध बुद्ध कृषि मन, समृद्ध नगर—सुखी नगरवासी हाम्रो अभियान’ भन्ने नारासहित महामारी तथा आकस्मिक रोगहरूको रोकथाम र नियन्त्रणसम्बन्धी सरोकारवालाको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी साँस्कृतिक नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आइतवार नगरपालिकाको बैठक हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले कोभिड–१९ लगायत मौसमजन्य रोगहरूबाट समुदायलाई सुरक्षित राख्न जनचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको बताउनुभयो।
उहाँले नगर क्षेत्रभित्र प्रत्येक वडामा विपद् व्यवस्थापनसम्बन्धी जानकारी दिन, आपतकालीन उद्धार तथा पहिचान टोली गठन गर्न, साथै कृषि अभ्यास तथा स्वच्छता व्यवस्थामा विशेष जोड दिने सूचना सामग्रीहरू वितरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा प्रकृति संरक्षणको सन्दर्भमा भगवान बुद्धको उपदेशसमेत स्मरण गरिएको थियो। उहाँले जीवनका प्रत्येक रूपमाथि करुणा र माया गर्नुपर्ने शिक्षाद्वारा रुख, बिरुवा, किरा–फट्यांग्रा, वन–जंगल, नदी–नालालगायत प्राकृतिक सम्पदाको रक्षा गर्नुपर्ने सन्देश दिनुभएको उल्लेख गरियो। प्राकृतिक सम्पदाको संरक्षण र संवर्धनले बाढी, पहिरोजस्ता प्राकृतिक विपद् तथा संक्रमणजन्य रोगहरूको असर न्यून गर्न सक्ने धारणा राख्दै वृक्षरोपण जस्ता वातावरणमैत्री कार्यहरू नियमित गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा विभिन्न शाखाका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। अभिमुखीकरण सत्रमा महामारी र आकस्मिक रोगहरूको रोकथाम तथा नियन्त्रण सम्बन्धी उपायहरूमाथि विस्तृत अन्तरक्रिया भएको आयोजकले जानकारी गराएको छ।