काठमाडौं,
नगरमण्डप श्रीकीर्ति विहार र गणमहाविहारका संस्थापक दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको २४ औं पुण्य तिथीको अवसरमा विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । सोमबार नगरमण्डप श्रीकीर्ति विहारमा आयोजित कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर, श्रद्धेय भिक्षु सुमेध महास्थविर, श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर, श्रद्धेय भिक्षु नन्द महास्थविर सहित श्रद्धेय भिक्षुहरु, श्रद्धेय मिना गुरुमां सहित श्रद्धेय गुरुमांहरु लगायत श्रद्धालुहरुको सहभागीता रहेको थियो ।
श्रद्धेय भिक्षुसंघबाट शिल प्रदान सहित बुद्ध पुजा भएको कार्यक्रममा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरले बौद्ध सासनिक क्षेत्रमा पु¥याउनुभएको योगदानको देशना भएको थियो । सो क्रममा उहाँले दिवंगत श्रद्धेय भिक्षु सुर्दशनले नेपालमा थेरवाद बुद्ध धर्मको बीज रोपण गर्नु भएको र सोही बीजको माध्यमबाट बुद्ध धर्म लहराउन फस्टाउन र संसारभर फैलिन सहयोग पुगेको बताउनुभयो । नेपालको थेरवाद बुद्ध सासनलाई चीर स्थायीत्व प्रदान गर्न बुद्ध सासनिक क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभएका दिंवगत श्रद्धेय सुदर्शन महास्थविरले तत्कालिन समयमा बुद्ध धर्म र नेवाः भाषा प्रति लागेको निषेध तोड्दै उहाँले नेवाः भाषाको प्रचार प्रसारमा अग्रणी भूमिका वहन गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा विहारका आवासिय श्रद्धेय मिना गुरुमांले नगरमण्डप श्रीकीर्ति विहार स्थापनामा दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको योगदान बारे जानकारी दिनुहुदैं दिवंगत भिक्षुले बुद्ध शासनको रक्षा र विकास गर्नको लागी पुर्याउनुभएको योगदानबारे जानकारी दिनुभयो । दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरले नेवाः भाषामा बौद्ध ग्रन्थ अनुवाद गरी स्थानीय समुदायमा धम्म–ज्ञान प्रवाह गर्नुभएको थियो भने अन्तराष्ट्रिय स्तरमा थाईल्याण्ड, म्यानमार लगायत बौद्ध राष्ट्रहरुको धार्मिक भ्रमण गर्नुभएर नेपालमा थेरवाद अभ्यास थप सुदृढ बनाउन विशेष योगदान पुर्याउनुभएको थियो । दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको जन्म पिता न्हुँछेराज शाक्य र माता हर्कमाया शाक्यको कोखबाट सन १९६५ मा पाटनको ओकु बाहालमा भएको थियो भने बिक्रम संवत २०५८ सालमा उहाँको देहावसान भएको थियो । बोधि टेलिभिजन परिवार दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको सुगती निर्वाण कामना गर्दछ ।