काठमाडौँ,
प्रत्येक महिनाको औँसी, पूर्णिमा, अष्टमी र संक्रान्तिका दिनलाई बौद्ध
धर्मावलम्बीहरूले अत्यन्तै महत्वपूर्ण मानेर विशेष रूपमा पूजाआजा गर्ने गर्दछन्।
त्यसैले विभिन्न स्थानहरूमा रहेका चैत्य, स्तूप, गुम्बा र विहारहरूमा भगवान बुद्धको पूजा गरिन्छ। यसै
क्रममा नेपाल संवत ११४५ दिल्लाथ्व अष्टमीका दिन भृकुटीमण्डपस्थित श्रद्धेय भिक्षु
कोण्डन्य महास्थविर प्रमुख रहेको बुद्ध विहारमा बुद्ध पूजा सहित धर्मदेशना सम्पन्न
भएको छ। बिहीबार परेको अष्टमीको अवसरमा आयोजित उक्त कार्यक्रममा उपस्थित
उपासक–उपासिकाहरूको उपस्थितिमा विहारका आवासीय श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध
पूजा गरिएको थियो। साथै, विहारका
प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरबाट शील प्रदान गरिएको थियो।
विहारका आवासीय भिक्षुहरू सहित
श्रद्धालु उपासक–उपासिकाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा श्रद्धेय
भिक्षु कोण्डन्य महास्थविरबाट धर्मदेशना दिइएको थियो। धर्मदेशना पश्चात श्रद्धेय
भिक्षुहरूलाई श्रद्धालु दाताहरूबाट धर्मपूजा प्रदान गरिएको थियो। कार्यक्रमको
अन्त्यमा सर्वसत्व प्राणीको पुण्य हेतु पुण्यानुमोदन गरिनुका साथै दान प्रदान गरेर
कार्यक्रम समापन गरिएको थियो। बुद्ध धर्म, शिक्षा र दर्शनको प्रचार–प्रसार गर्नका लागि सो
विहारमा समय–समयमा विशेष धार्मिक कार्यक्रमहरूको आयोजना हुँदै आएको छ।