१७औं कर्मपा उर्गेन ठिन्ले दोर्जेको जन्मोत्सव मनाइयाे

img

काठमाडौँ,

परम पावन १७औं कर्मपा उर्गेन ठिन्ले दोर्जेको जन्मोत्सवको अवसरमा उहाँको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै विविध मोन्लाम पाठ सम्पन्न गरिएको छ। कर्मपा सेवा समाज नेपालको संयोजन तथा ताब्साङ गुम्बाको आयोजनामा परम पावन १७औं कर्मपा उर्गेन ठिन्ले दोर्जेको जन्म तिथिका दिन बौद्धस्थित ताब्साङ गुम्बामा सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको सुरुवात बौद्ध स्तूपको परिक्रमा गर्दै गरिएको थियो। कार्यक्रममा विभिन्न गुम्बाका रिन्पोछेहरू, टुल्कु, खेन्पो, लोपेन, लामा, आनीहरू, साथै लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पोछिमे डा। ल्हारक्याल लामा, कर्मपा सेवा समाज नेपालका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरूसहित १००० भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको थियो। सामूहिक मोन्लाम पाठमा सबैले परम पावनको सुस्वास्थ्य र दीर्घायुको कामना गरे।

विगत ३१ वर्षदेखि कर्मपा सेवा समाज नेपालले परम पावनको जन्मोत्सवको अवसरमा उहाँको सुस्वास्थ्य एवं दीर्घायुको कामनासहित करुणा, शान्ति, समानता र वातावरण संरक्षणको सन्देश फैलाउँदै विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसै अवसरमा खेन्पो दोर्जे लामाले कर्मपा उर्गेन ठिन्ले दोर्जेको जीवन, दर्शन र योगदानबारे जानकारी गराउँदै उहाँले बुद्ध धर्म र बौद्ध संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउनुभएका योगदान स्पष्ट गर्नुभयो। परम पावन १७औं कर्मपा उर्गेन ठिन्ले दोर्जे बौद्ध परम्पराका चार प्रमुख सम्प्रदायमध्ये काग्युपा सम्प्रदायका प्रमुख गुरु हुनुहुन्छ। उहाँले काग्युपा सम्प्रदायको परम्परागत शिक्षालाई व्यवहारिक रूपमा अगाडि बढाउने कार्यमा विशेष जोड दिँदै आउनुभएको छ।