काठमाडौँ,
स्वयम्भूस्थित मनाङ गुम्बामा परम पावन श्रद्धेय शेरब ग्याल्जेन रिन्पोछेको स्वास्थ्य र दीर्घायुको कामना सहित कुसुम थुतेन अर्पण गरी सातौं डुन्डुब पूजा समापन गरिएको छ।पवित्र महिना सागादावाको अवसरमा विश्व शान्तिको कामना गर्दै स्वयम्भूस्थित मनाङ गुम्बामा एक महिना लामो सातौं डुन्डुब पूजा आयोजना गरिएको थियो, जुन रिन्पोछेको स्वास्थ्य र दीर्घ जीवनको कामना सहित बिहीवार सम्पन्न भएको हो।विश्व प्राणी जगतको उद्धार, विश्व शान्ति तथा सम्पूर्ण सत्व प्राणिहरूको कल्याणको कामनाका साथ परम पावन श्रद्धेय शेरब ग्याल्जेन रिन्पोछेको प्रमुखत्वमा एक महिना सम्म यो पूजा सञ्चालन गरिएको थियो।कार्यक्रमको अन्तिम दिन मनाङ समाज परिवार द्वारा गुरुको उत्तम स्वास्थ्य र दीर्घायुको कामना गर्दै कुसुम थुतेन अर्पण गरिएको थियो।
पवित्र सागादावा महिनाको अवसरमा "विश्वमा शान्ति होस्, भय, त्रास र अशान्ति हटून्, मनोकामना पूर्ण होस्" भन्ने हेतुले विभिन्न गुम्बाबाट पालिएका रिन्पोछे, लामा, आनी तथा देश-विदेशका हजारौं श्रद्धालु उपासक-उपासिकाहरूको सहभागितामा सामूहिक डुन्डुब पूजा गरिएको थियो। सागादावा महिनालाई बौद्धमार्गीहरूले अति पवित्र महिना मान्ने गर्दछन्। यो महिनामा थोरै पुण्यले पनि ठूलो फल मिल्ने विश्वासका कारण बौद्ध अनुयायीहरूले शुद्ध मनले न्युने व्रत, कङ्ग्युर पाठ, धार्मिक प्रवचन, दान, रक्तदान लगायतका पुण्यकार्य गर्ने गर्दछन्। सोही क्रममा विश्व शान्तिको कामनासहित परम पावन श्रद्धेय शेरब ग्याल्जेन रिन्पोछेको प्रमुखत्वमा आयोजित एक महिनाको उक्त कार्यक्रममा करिब १० अर्ब मणीजप गरिएको जानकारी गराइएको छ।