काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनद्वारा आयोजित स्वयंसेवक तालिम सम्पन्न भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउन्डेसनका स्वयंसेवकहरूलाई बुद्ध शिक्षा र बोधिचर्यालाई व्यवहारमा कसरी उतार्ने तथा फाउन्डेसनको नियमबारे जानकारी प्रदान गरिएको थियो। तालिमको पहिलो चरणमा सैद्धान्तिक विषयवस्तुमा आधारित प्रशिक्षण प्रदान गरिएको थियो। जसअन्तर्गत बुद्धको शिक्षा, फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाले सिकाउनुभएका कुशल कर्महरू, फाउन्डेसनका नियमहरू लगायत विविध विषयमा प्रशिक्षण दिइएको थियो। त्यसपछि प्रयोगात्मक रूपमा अगाडि बढाइने गरिएको नेपालका लागि फाउन्डेसनका निर्देशक डा. निर्देश शाक्यले जानकारी दिनुभयो।
श्रद्धेय चङ्येन गुरुआमाले भगवान बुद्धको जन्मभूमिलाई केही फिर्ता दिनुपर्ने भावना व्यक्त गर्दै आफ्ना स्वयंसेवकहरूलाई सक्रिय रूपमा खटाउनुभएको छ। भगवान बुद्धले गृहस्थ उपासक–उपासिकाहरूका लागि उपदेश गर्नुभएको पञ्चशीलको सिद्धान्तलाई दैनिक जीवनमा पालन गर्नुपर्ने, आफ्नै पोशाकमा समाज सेवाको लागि तोकिएको कार्य क्षेत्रमा खटिनुपर्ने न्यूनतम सर्तका आधारमा संसारभर चु जीका लाखौं स्वयंसेवकहरू कार्यरत छन्। कार्यक्रममा सहभागी स्वयंसेवकहरूले फाउन्डेसनले गर्दै आएको परोपकारी कार्यहरूमा सहभागी हुन पाउँदा प्राप्त गरेका अनुभवहरू आपसमा आदान–प्रदान गरेका थिए। अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसन भगवान बुद्धका शिक्षालाई आधार मानेर सन् १९९६ मा ताइवानका श्रद्धेय चङ्येन गुरुआमाले स्थापना गर्नुभएको सामाजिक परोपकारी संस्था हो। त्यसकारण, इच्छुक जो–कोही व्यक्तिले यस फाउन्डेसनमा सजिलै आबद्ध हुन सक्नेछ।