बौद्धनाथ क्षेत्रविकास समितिको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका ललितपुरका आचार्य मोहन कुमार तामाङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १३ निर्णय मध्ये सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नवौं नम्बरमा बौद्धनाथ क्षेत्र विकास समितीको रिक्त कार्यकारी निर्देशक पदमा आचार्य मोहन कुमार तामाङलाई नियुक्ति गरेको थियो ।
पर्यटन मन्त्रालयले गत पुस २३ गते सार्वजनिक सूचना माग गरेर वौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान गरेको थियो । उक्त प्रस्तावबाट छनोट हुनुभएका तीन जनामध्येबाट सरकारले आचार्य मोहन कुमार तामाङलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । आचार्य मोहन कुमार तामाङ बोधि टेलिभिजनको धर्म अनुवाद समितिको मुख्य सदस्य पनि हुनुहुन्छ । यहाँ संलग्न रहेको बोधि टेलिभिजनको धर्म अनुवाद समितिले अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटि फाउण्डेसनका सस्थापिका श्रद्धेय चङ् येन गुरुआमाले चिनियाँ भाषामा अनुवाद गर्नु भएको अपरिमितार्थ सुत्रलाई अंग्रजी भाषाबाट नेपाली भाषामा अनुवाद गरिसकेको छ । साथै उहाँले भोट भाषामा भएको धेरै धर्मपुस्तकहरु नेपाली भाषामा अनुवाद गरि सक्नुभएको छ । उहाँले बोधि टेलिभिजनका लागि महायान बुद्धधर्मसँग सम्वन्धित धेरै वृतचित्रहरु पनि निमार्ण गर्नुभएको छ ।
महायान बुद्धधर्मका अन्वेषक आचार्य मोहन कुमार तामाङले गुरु पद्मसंभव गुरु रिन्पोछेको पदयात्रा गुरु रिन्पोछे ट्रेलमा विद्यावारिधि पनि गर्दै हुनुहुन्छ ।