छोटुल दावा महिनाको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा हजार बुद्ध मन्दिरमा आयोजना गरिएको तीन कालका सबै बुद्धहरुको स्रोत, धारणी, मन्त्रहरुको राजा मुनि मन्त्रको १० करोड जप संचय दुङ द्रूबको अभ्यास समापन भएको छ । विश्व शान्तिको कामना गरी कानिङ सेडुबलिङ महाविहारका शरणनायक परम पावन क्याब्जे छोकी निमा रिन्पोछेको प्रमुखत्वमा आयोजित सो कार्यक्रम सोमबार समापन भएको हो । करिब पाच दिन सम्म सञ्चालन भएको कार्यक्रममा कानिङ सेडुबलिङ महाविहारका लामाहरु, पाल थुव्तेन सेडुप लिङ गुम्बाका लामाहरु, ३ बर्ष ३ महिना ३ दीन दिनसम्म छाम बस्नुभएका लामाहरु, सहित देश विदेशका श्रद्धालुहरुको बाक्लो उपस्थिती रेहेको थियो । गुम्बामा दुङ द्रूबको अभ्यास गर्नु पुर्व विश्वमा शान्ति होस्, भय, त्रास, अशान्ति बाधा हटेर जाओस, सबैको मनोकामना पुरा होस् र सम्पुर्णलाई बुद्ध ज्ञान प्राप्ति होस् भन्ने हेतुले परम पावन क्याब्जे छोकी निमा रिन्पोछेको सदिक्क्षा अनुसार कांग्युर पाठको पनि आयोजना गरिएको थियो । शिल समाधी ज्ञानलाई त्रिपिटक भनिन्छ भने त्रियानभित्र समावेश भएको ज्ञानलाई काग्युर भनिन्छ । कानिङ सेडुबलिङ महाविहारका शरणनायक परम पावन क्याब्जे छोकी निमा रिन्पोछेको सदिक्क्षा अनुसार देश विदेशका श्रद्धालुदाताहरुको सहयोगमा लुम्बिनीमा हजार बुद्ध मन्दिरको स्थापना गरिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा यसरी सो मन्दिरको निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीका लागि गौरवको विषय भएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी एक यस्तो स्थल हो जसको महत्व प्राचीन कालदेखि अहिलेसम्म निरन्दर बढ्दै गएको छ । प्राचीन कालदेखी नै राम्रो चिनारी पाएको लुम्बिनीको परम पावन क्याब्जे छोकी निमा रिन्पोछेको सदिक्क्षामा निर्माण भएको हजार बुद्ध मन्दिरको माध्यमबाट संसारभर अझ बढी महत्व बृद्धि गर्न सहयोग पुगेको छ । जसका कारण पछिल्लो समय हजार बुद्ध मन्दिर र मन्दिरमा हुने गरेका धार्मिक कार्यक्रमहरुले विश्वको ध्यान खिचिरहेको छ ।