लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र बाहिर विद्युतको समस्याका बारेमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेटवार्ता गरेको छ । कोषका निमित्त उपाध्यक्ष एवम् कोषाध्यक्ष ढुण्डिराज भट्टराई सदस्यसचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले विद्युतीय समस्याको दीर्घकालीन समधानका विषयमा छलफल गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख नवराज ओझालाई भगवान गौतम बुद्धको पवित्र जनमस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र विद्युतका कारण निकै समस्या भोग्नुपरेकाले त्यसको समाधान गर्न कोषका तर्फबाट प्राधिकरणको ध्यानाकर्षण गराइएको कोषले जनाएको छ । कोषका निमित्त उपाध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा अनियमित विद्युत् कटौती, भोल्टेजको समस्याले हैरानी बनाएकाले यसको दीर्घकालीन समाधान गर्न आग्रह गर्नुभएको छ । सदस्य सचिव सानुराजा शाक्यले धेरै पटक छलफल गरिए पनि विद्युतको समस्या हल हुन नसकेकाले कोषभित्रको विद्युतको प्राविधिक समस्याको अध्ययन गरी समाधान गर्न सुझाव दिनुभएको छ । सो छलफलमा योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनामा विद्युतको समस्यालाई समाधान गर्न कोष प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । गुरुयोजना क्षेत्रभित्र विस्तार गरिएको तार, सोलारको ऊर्जा, विद्युत् ग्रिडमा जडान जस्ता समस्यालाई प्रदेश तहबाट समाधान गर्ने प्रदेश निर्देशक नवराज ओझाले प्रतिबद्धता जनाउनु भएको छ । कोषका पदाधिकारीहरूले नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रबन्धक संजय कुमार मिश्रलाई समेत भेट गरेको छ । यसअघि कोषाध्यक्ष भट्टराईको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी कोष र लुम्बिनी क्षेत्रका लागि छुटाछुट्टै रूपमा विद्युत वितरणको व्यवस्था गर्न माग गरेका थिए । सोही माग अनुसार अहिले लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र छुट्टै फिडर जडान समेत भइसकेको छ । जसका कारण अहिले लुम्बिनीको बाहिरका क्षेत्रमा विद्युत कटौती, लोभोल्टेज जस्ता समस्याहरु समाधान भएको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले जनाएको छ ।