काठमाडौं,
ललितपुरको ज्याठाबहालस्थित पद्मवर्ण महायान विहारमा हरेक महिनाको एक गते नियमित रूपमा हुँदै आइरहेको आर्य तारा पूजा सम्पन्न भएको छ। कानिङ सेडब्लिङ गुम्बाका टुल्कु जाम्न्याङ कुन्द्रोलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साढे तीन वर्षसम्म छाम बस्न लाग्नुभएका १६ जना लामागुरुहरू सहित सर्व सत्व प्राणीहरूको मंगलकामना गरी तारा पूजा सहित च्वेत पूजा गरिएको थियो।
छाम बस्ने क्रममा लामाहरूले एउटै कोठामा बसेर ध्यान गर्ने गर्नुहुन्छ। यसरी छाम बस्न जान लाग्नुभएका लामाहरूलाई विहारमा निमन्त्रणा गरी उहाँहरूको मंगलकामना गर्न पाउँदा खुसी लागेको श्रद्धेय लामा गुण सागरले बताउनुभयो। उहाँले ध्यान बिना ज्ञान बलियो नहुने बताउनुहुँदै सम्पूर्ण लामाहरूको छाम बसाइ सफल होस् भनी कामना गर्नुभयो। कार्यक्रममा श्रद्धेय लामा ज्ञान सागरबाट धर्मदेशना भएको थियो। महिनाको एक पटक मात्र आर्य तारा पूजा गर्न सकेमा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाधान हुने र मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरू सहजै रूपमा हटेर जाने भएकाले आर्य तारा पूजाको विशेष महत्व रहेको छ। आर्य तारा पूजा गर्नाले निरोगी हुने र आत्मसन्तुष्टि बढ्ने विश्वासका कारण आर्य तारा पूजा प्रति उपासक–उपासिकाहरूको ठूलो आस्था र विश्वास रहेको छ।
यस्तै, सो विहारमा आगामी बिहीबारदेखि एक महिने गुँला धर्मदेशना हुने भएको छ। पद्मवर्ण महायान विहारका संस्थापक दिवंगत श्रद्धेय गुरु मञ्जुघोष शासनधरको पुण्य स्मृतिमा प्रत्येक वर्ष गुँला धर्मदेशना कार्यक्रम हुँदै आइरहेको छ। यसैक्रममा बिहीबारदेखि सो कार्यक्रमको आयोजना गर्न लागिएको हो। सो कार्यक्रममा सहभागी भएर पुण्य सञ्चय गर्नका लागि सद्धर्मप्रेमी उपासक–उपासिकाहरूलाई आह्वान समेत गरिएको छ।