महाकाल मन्दिरमा वज्राचार्य गुरुज्यूहरूबाट विशेष पूजा सम्पन्न।

img

काठमाडौँ,
काठमाडौँको टुडिखेलमा अवस्थित महाकालको मन्दिरमा महाकाल विराजमान भएको दिनलाई लिएर वज्राचार्य गुरुज्यूहरूबाट विशेष पूजा भएको छ। वज्रयान तथा महायान बौद्ध परम्पराका अनुयायीहरूले अत्यन्त श्रद्धाभावका साथ महाकाललाई पूजिने गरिन्छ। महाकाल जुन विभिन्न स्थानहरूमा विराजमान हुनुहुन्छ। वज्रयान महाविहारहरूको प्रवेश द्वारमा महाकाल संरक्षक र धर्मपालको रूपमा राखिएका हुन्छन्। काठमाडौंको टुडिखेलमा एक विशाल महाकालको मूर्ति मन्दिरभित्र अवस्थित छ, जुन हिन्दू र बौद्ध दुवै श्रद्धालुहरूबाट पूजा आजा गरिन्छ। यस मन्दिरका नियमित पुजारीहरू गुरु वज्राचार्यहरू हुनुहुन्छ। महाकाललाई शत्रुहरू पराजित गरी विजय प्राप्त गर्न सहयोगीको रूपमा मानिन्छ भने बुद्ध, धर्म र सङ्घको संरक्षकका रूपमा पनि मानिन्छ।
मन्त्रश्री महाविहार सबल बाहालका शाश्वत् वज्र वज्राचार्यले आफ्नो तन्त्र साधनाबाट टुडिखेलमा अवस्थित महाकालको स्थापना गरेको विश्वास गरिन्छ। नेवार बौद्ध किंवदन्ती अनुसार महाकाल तिब्बतबाट नेपाल आउनुभएको कथन रहेको छ। शाश्वत वज्र वज्राचार्य घाममा बसिरहनु भएको बेला उहाँले आकाशमा कालो बादल देख्नु भएको थियो। उहाँले त्यो बादललाई ध्यान दृष्टिबाट हेर्नुभयो, तर त्यो बादल नभएर कुनै अलौकिक शक्ति भएको थाहा पाएपछि उहाँले आफ्नो तन्त्र साधनाबाट तारण लगाई धरतीमा झार्नुभयो। त्यसपछि त्यो बादल एक भयंकर महाकालको रूपमा परिवर्तन भयो। सो समय नेपालमा लामो समयदेखि खडेरी परेको हुनाले अन्नबालीको अभाव भइरहेको थियो। शाश्वत वज्र वज्राचार्यले शक्तिशाली महाकाललाई यहीँ विराजमान भई रक्षा गर्न अनुरोध गर्नुभयो। तर महाकालले सबैको रक्षाका लागि आफू त्रिसाहस्र महासाहस्र लोकधातुको भ्रमण गरिरहनु पर्ने, त्यस कारण उहाँ सधैं यहाँ बस्न नसक्ने बताउनुभयो। तर उहाँले श्रद्धालुहरूको दुःख निवारण गर्न शनिबार र मंगलबार मात्र आउनुहुने बताउनुभयो, र त्यही भएर महाकालको मन्दिरमा शनिवार र मंगलवार दर्शन र पूजा, पाठ गर्नेको भीड हुने गरेको छ। यसै सिलसिलामा टुडिखेलमा अवस्थित महाकालको मन्दिरमा महाकाल विराजमान भएको दिनलाई लिएर सोमबार महाकालको बुसादु अर्थात् उहाँ विराजमान हुनु भएको अवसरमा वज्राचार्य गुरुज्यूहरूबाट विशेष पूजा भएको छ। त्यस दिन महाकाललाई विभिन्न आभूषण र वस्त्रहरू लगाइने गरिन्छ।
काठमाडौं उपत्यकामा पाइने संस्कृत र तिब्बती संस्करणहरूमा महाकाल सम्बन्धी साधना र तन्त्र अभ्यासहरू पनि रहेका छन् भने महाकालको गुह्य अभिषेक लिएर अभ्यास पनि गर्ने गरिन्छ। नेपालमा प्राचीन समयदेखि नै कृष्ण पक्षको चतुर्दशी तिथिमा महाकालको व्रत बस्ने प्रचलन रहेको छ। मन्दिरमा श्रद्धालुहरूबाट कालो कपडा, फलामको खड्ग, फलामको पाला र पात्रमा विभिन्न प्रकारका वस्तुहरू चढाउने गरिएको छ। त्यसैले जो व्यक्ति चतुर्दशी व्रतलाई महाकालको आव्हान गर्दै पालना गर्छ, उसले आफ्नो कार्यमा सफलता पाउने र शत्रुहरूबाट हुने खतराबाट मुक्त रहने मानिन्छ। यसरी विभिन्न समस्या आउँदा र विघ्न बाधाहरू निवारणका लागि महाकालको पूजा गर्ने प्रचलन रहेको छ।