बुद्धधर्ममा आषाढ पुर्णिमाको महत्व

राजेन मानन्धर
भगवान बुद्धको जीवनमा पुर्णिमाको अगग्ग स्थान छ । उहाँको जीवनका धेरै महत्व घटना पुर्णिमाको दिन घटेको संयोगहरु धेरै छन् । जस्तै बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा परिनिर्वाण पुर्णिमामा भएका थिए । यी बाहेक अरु केही यस्ता घटनाहरु पनि यसै दिनमा घटे । ती मध्ये आषाढ पुर्णिमाका दिनमा पाँचवटा महत्वपूर्ण घटना घटेको संयोग छ ।

त्यसैले संसार भरका बौद्धहरु भगवान बुद्धको जीवनको पाँच महत्वपूर्ण धटनाहरूको संयोग परेको दिन भनेर आषाढ पूर्णिमालाई श्रद्धापूर्वक मनाउँदै आएका छन् । यस दिन परेको भगवान बुद्धको पाँच संयोग निम्न छन् ।
गर्भप्रवेश
महाभिनिष्क्रमण
धर्मचक्र प्रवर्तन
यमक ऋद्धिप्रातिहार्य
आमा मायादेवीलाई अभिधर्म देशना

सिद्धार्थको गर्भप्रवेश –

भगवान बुद्धको जन्मसँग धेरैवटा कथनहरु जोडिएका छन् । यी कथनहरुलाई बौद्धहरु श्रद्धाका साथ विश्वास गर्दछन् । यस्ता कथनहरु बुद्धको गर्भ प्रवेशदेखि नै शुरु हुन्छ । यस अनुसार कपिलवस्तुका राजा शुद्दोदनकी महारानी मायादेवीको गर्भमा सिद्धार्थले आषाढ पूर्णिमाका दिनमा प्रवेश गरेको भन्ने गरिन्छ । यसलाई बौद्ध साहित्यमा एक प्र्रतिकात्मक कथाबाट चिनाइन्छ । यस अनुसार यस दिन मायादेवी व्रत बसेर आराम गरिरहँदा उहाँले एउटा सपना देख्नुभयो । यसमा उहाँले आफु सुतिरहेको अवस्थामा उहाँलाई चारजना देवताहरूले खाट समेत उठाई उच्च आसनमा राखे । त्यसपछि तुषितदेवलोकबाट स्वेतकेतु नामक बोधिसत्व सेतोे हात्तीको रूपमा आएर महारानीको पेटभित्र पसे ।

राजा सुद्धोधनले यसको अर्थ जान्न खोज्दा दरवारमा भएका ब्राह्मणहरूले यसको अर्थ महारानीको गर्भमा एक महापुरूषको गर्भ प्रवेश भएको हो भनेर बुझाए ।

सिद्धार्थको महाभिनिष्क्रमण –
राजा शुद्धोदन आफ्नो युवराज सिद्धार्थलाई संसारका दुःख र पीडाबाट अनभिज्ञ राखी दरवार भित्रै सुख सयलमा भुलाइराखे । तर पनि एक दिन उनले रोगी, बृद्ध, मृतक र भिक्षु गरी चार दृश्यहरू देखेपछि यस्तो किन हुन्छ भन्ने सोचमा डुबे । यसैको उत्तर पाउन उनले आषाढ पूर्णिमाको रातमा गृहत्याग गर्नुभयो । त्यसबेला उहाँको उमेर २९ वर्ष पुगेको थियो ।

बौद्ध साहित्यमा यसलाई महाभिनिष्क्रमण भनिन्छ । यसलाई बौद्धहरु निकै ठुलो घटनाको रुपमा लिन्छन् । यदि उहाँले त्यसदिन घर नछोड्नुभएको भए उहाँ कहिल्यै बुद्ध हुने थिएनन् भनेर यसलाई महत्वपूर्ण घटनाको रुपमा सम्झन्छन् । कथाहरुमा भनिए अनुसार उहाँले दरवार त्याग गर्दा वशवर्ती नामक देवराज आएर दरवार नत्याग्न आग्रह गरेको थियो तर उहाँले मान्नुभएन ।

धर्मचक्र प्रवर्तन –

सिद्धार्थले ज्ञानको खोजी गर्दै छ वर्ष बिताउनुभयो । यस बिच उहाँले धेरै पण्डितहरुको संगत गर्नुभयो, शरिरलाई दुःख दिएर तपस्या गर्नुभयो र विभिन्न चरण पार गरी बोधिज्ञान लाभ गर्नुभयो । तर उक्त ज्ञान पाइसकेर पनि उनले त्यो ज्ञान अरुलाई बाँड्न दुई महिना समय लिनुभयो । उपयुक्त समय र चेलाहरु खोज्दै आषाढ पुर्णिमाकै दिनमा उनले ऋषिपट्टन मृगदावन भन्ने स्थानमा आफ्ना पाँच जना साथीहरुलाई चेला बनाएर धर्म उपदेश दिनुभयो । आफुले प्राप्त गरेको ज्ञान मध्येबाट मध्यम मार्ग र चतुर्राय सत्यको बारे दिइएको ज्ञानलाई पनि बौद्धहरु अति महत्वपूर्ण घटनाको रुपमा लिन्छन् । यसै दिनबाट उहाँको ज्ञान विश्वसामु फैलिएको भनेर उनीहरुले यसलाई बुद्धले धर्मको चक्र घुमाउनुभएको अर्थमा यस दिनलाई नै धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउँछन् ।

यमक ऋद्धिप्रातिहार्य –
भगवान बुद्धले आफ्नो ज्ञान गुह्य नभएको र अहिलेको अहिल्यै देख्न सकिने भन्नुभएको थियो । तर सामान्य मानिसले गर्न नसक्ने जादुइ वा मायावी कला देखायो भने सर्वसाधारण आकर्षित हुनु स्वाभविक हो ।

यस्तो अवस्थामा उनकै जीवनकालमा तीर्थंकरहरूले ऋद्धिद्वारा चमत्कार देखाई आफ्नो धर्मलाई सर्वश्रेष्ठ भनी मानिसहरूलाई आकर्षण गर्ने र भ्रमित पार्ने काम गरिरहेको थिए । यसले गदा्र्र समाजमा मानिसहरू सही धर्मलाई बेवास्ता गरी क्षणिक चमत्कारको पछि लाग्ने संभावना बढिरहेको थियो ।

त्यसैले बुद्धले आषाढ पूर्णिमाका दिन श्रावस्ती नगरमा पुगेर त्यहाँका तीर्थंकरहरूले देखाउने गरेको चमत्कार भन्दा धेरै कठिन चमत्कार अथवा ऋद्धि प्रदर्शन गर्नुभयो। उनले जोडा जोडा अंगबाट आगो र पानी निकालेर देखाएकार थिए । यस प्रकार यस्तो देखाउन सबैले सक्छ तर यो धर्म होइन, यसले दुःखबाट मुक्त गराउँदैन भन्ने शिक्षा दिए । यसै बेला उहाँले आफ्ना शिष्यहरुलाई देखाउन नै सक्ने भएपनि यस्ता ऋद्धि प्रदर्शन गर्नमा प्रतिबन्ध लगाउनुभयो । किनभने यस्तोको पछि लागेर साधारण मानिसले धर्म बिर्सने संभावना थियो ।

आमा मायादेवीलाई अभिधर्म देशना –
भगवान बुद्धको जन्मको सात दिन पछि उहाँकी मायादेवीको देहावसान भएको थियो । बौद्धहरु मायादेवी मृत्यु पछाडि तावतिंस नामक देवलोकमा प्रकट भएको विश्वास गर्दछन् । यस घटना पनि यसै विश्वासमा आधारित छ ।

बुद्धले बोधिज्ञान पाएर जनमानसलाई यसको बारेमा उपदेश दिएर केही वर्ष बिताउनुभयो । त्यस पछि उहाँले आफ्नी आमाको विचार गर्नुभयो ।

बौद्धहरु बुद्धले बोधिज्ञान प्राप्त गरेको ८ बर्ष पछि आषाढ पूर्णिमाकै दिनमा आफ्नी आमा मायादेवीलाई तावतिंस नामक देवलोकमा गएर अभिधर्मको देशना गर्नुभएको भन्ने विश्वास गर्दछन् । यस प्रसंगले एकातिर उहाँले आफ्नी आमालाई कतिको आदर गर्थे भन्ने देखाउँछ भने त्यो ज्ञान कतिको महत्वपूर्ण थियो भन्ने पनि जनाउँछ ।

उहाँले तावतिंस देवलोकमा आमालाई बाट अवतरण भइसकेपछि सारिपुत्रलाई देशना गरे । यसैलाई पछि संग्रहित गरी राखियो, जसलाई त्रिपिटक अन्तर्गतको अभिधर्मपिटक भनेर चिनिन्छ । चित्तका विभिन्न अवस्थाको बारेमा गहन विश्लेषण गरिएको यस पक्षलाई बुद्ध धर्मकै गंभीर र बुझ्न कठिन ज्ञानको रुपमा लिइन्छ ।
यतिमात्र होइन बौद्ध साहित्यमा आषाढ पुर्णिमाको दिनलाई राहुल कुमारको जन्म, प्रथम संगायन शुरू भएको, सम्राट अशोकको कलिङ्ग विजय आदि भनेर पनि चिनिन्छ । यस बारे विस्तृतमा जान संभव भएन ।

बुद्धको जीवनमा यसै आषाढ पुर्णिमाका दिन घटेका यी महत्वपूर्ण घटनाहरुले उनको जीवन र उनले दिएका शिक्षाको गंभीरतालाई प्रतिकात्मक ढंगले दर्शाएको छ ।
यस्ता दिनहरुले बुद्धको गृहप्रवेश, उनले गृहत्याग गर्नुको पछाडिको कारण, धर्म चक्रप्रवर्तन गर्नुको महत्व र आमालाई अभिधर्मको ज्ञानदिनुको महत्व हामीलाई संस्मरण गराउँछ ।

यी विशेष दिनमा बुद्धको जीवनीसँग सम्बन्धित घटना वा कार्यलाई सम्झियौं भने हामीले बुद्धको शिक्षालाई मनन गरेको सार लाग्दछ । ती कथा मात्र कथाहरु होइनन् । समयका उतारचढाउले बगाउन, खियाउन नसकेका ती कथा वा प्रसंगहरुसँग गंभीर भन्दा गंभीर सन्देशहरु लुकेर बसेका हुन्छन् । ती सन्देशहरु नै ती मन्त्रहरुहुन् जसले यो २५सय वर्षमा पनि बुद्धको शिक्षालाई अजर अमर बनाइराख्न सफल भए ।

विभिन्न धर्मश्रवण तथा विद्वानहरुले लेखेका लेखहरुको आधारमा तयार पारिएको

1 month ago/Tuesday, July 16th, 2019/