शिद्धार्थले गृहत्याग गरेको द्वारको अवषेश पत्ता लाग्दै

राजेन मानन्धर
तौलिहवा, कपिलवस्तु, पुस २५ । राजकुमार सिद्धार्थले सम्बोधि ज्ञान प्राप्त गर्न भनेर कपिलवस्तु राजदरवार त्यागेको पूर्वी ढोकाको अवशेषहरु फेला पर्दैछन् ।

 

पुरातत्व विभाग, लुम्बिनी विकास कोष तथा बेलायतस्थित डुरह्याम विश्वविद्यालयले संयुक्त रुपमा राजा शुद्धोदनको राजदरवार भनेर चिनिएको कपिलवस्तुमा हालै शुरु गरेको उत्खनन्का विशेषज्ञहरुले इशापूर्व पाँचौ शताब्दीको इतिहासको ढोका खोल्ने सकारात्मक संकेत पाइरहेको दावी गरेका छन् ।

 

केही वर्ष देखि चलिरहेको कार्यक्रम अन्तर्गत तौलिहवा स्थित उक्त स्थानमा केही दिन देखि उत्खनन् शुरु भएको हो ।

 

बोधी टेलिभिजनसँग कुरा गर्दै डुरह्याम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङघमले हालैको उत्खनन्ले शिद्धार्थले गृहत्याग गरेको अर्थात् महानिष्क्रमण गरेको शुद्धोदन महाराजको दरवारको पूर्वी ढोका रहेको स्थान स्थानमा इँटाका संरचनाका अवशेष भेटिनु निकै रोमाञ्चक भएको बताउनुभयाे ।

 

उहाँले भन्नुभयो, “जुन ठाउँमा चीनिया यात्रीहरुले शुद्धोदन राजाको दरवार रहेको वर्णन गरेका थिए, अनि पिसि मुखर्जाीले पनि त्यतिबेलै अनुसन्धान गरी यहीँ राजदरवार भएको हुनुपर्ने दावी गरेको थियो, अहिले अत्याधुनिक यन्त्र प्रयोग गरी यहाँ भित्र प्राचीन इँटाका संरचना भएको म्यापिङ गरी हामीले उत्खनन् थालेकोमा यहीँ यी संरचना प्राप्त हुनुले हामीलाई धेरै प्रोत्साहन मिलेको छ ।”

 

उहाँका अनुसार तिलौराकोट बुद्धकाल भन्दा अगाडि इसापूर्वको आठौं शताब्दीदेखि नै मानवबस्ती भएको शहर हो ।

 

त्यस्तै डुरह्याम विश्वविद्यालयकै डा. क्रिस्टोफर डेभिसले पनि यस क्षेत्र धेरै दृष्टिकोणबाट महत्वपूर्ण भएकोले यस चरणको उत्खनन्ले पनि केही नयाँ कुराहरु संसारलाई दिनेमा आफु विश्वस्त भएको बताउनुहुन्छ ।
हालको तौलिहवा भन्दा करिब ३ किलोमिटर उत्तरमा रहेको यस तिलौराकोटमा यस अघि उहाँ लगायतको समुहले जिओफिजिकल सर्भेक्षण अथवा परिणाममुखी भौतिक सर्भेक्षण प्रविधिको प्रयोग गरी माटोले भरिएको जमिन मुनि इँटा वा ढुंगाको संरचना भएको पहिचान गरी त्यको आधारमा उत्खनन् गर्न थालेको थियो । अन्तरविधागत विधि अथवा मल्टिडिसिप्लिनरी विधिबाट गरिने यस्ता अन्वेषणले विभिन्न कोणबाट उत्खनन्क्षेत्रको अध्ययन गरी परिणाम प्रतिवेदन निकाल्ने गरिन्छ ।

 

यस अनुसार यहाँ दरवारको चारैतिर ढुंगाको पर्खाल, बाटो तथा मानव बस्ती भएको संकेत पाएको थियो । यसै अनुसार यहाँ उत्खनन् गर्न थालेको थियो ।
यसै समुहले झण्डै तीन वर्ष गरेको उत्खनन्ले उक्त क्षेत्रमा बुद्धकाल भन्दा धेरै अगाडि पाको इँटा प्रयोग नगरी काठको लिङगो राखेर संरचना बनाउने प्रविधिको सभ्यताको विकास भइसकोको पत्ता लगाएको थियो ।

 

यस्ता अध्ययनहरुले विगतमा तिलौराकोट क्षेत्रमा विभिन्न समयमा बसोबास गर्ने मानिसहको क्रियाकलाप सम्बनधी प्रमाणहरु जुटाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।

 

लामो समयको अध्ययन र अनुसन्धान पछि सन् १८९९तिर भारतीय पुरातत्वविद् डा. पि सि मुखर्जीले आजको तिलौराकोटस्थित उक्त स्थान नै बुद्धकालको शुद्धोधन महाराजाको दरवार भएको पत्ता लगाएका थिए । पछि सन् १९६२मा अर्का भारतीय पुरातत्वविद् देवाला मित्राले उक्त स्थानमा उत्खनन् गरी केही प्राचीनकालका वस्तुहरु पत्ता लगाएकी थिइन् ।

 

सय वर्षभन्दा अघिदेखि विदेशी तथा नेपाली अन्वेषकहरुको चासो र चिन्ताको विषय थियो राजा शुद्धोधनले राज्य गरेको, सिद्धार्थ राजकुमार हुर्केको दरवारको सही अवस्थिति, जहाँबाट ती राजकुमारले गृहत्याग गरेर सम्बोधि ज्ञानको खोजी गरेका थिए ।

2 weeks ago/Tuesday, January 9th, 2018 /