करुणा लामिछाने, काठमाडौं
नेपाल मण्डलको नेवाः बज्रयान परम्परा अन्तर्गत गरिने साधनाहरू मध्ये गुरु–शिष्य परम्पराबाट निरन्तर रूपमा चल्दै आएको गुह्य साधना एक हो। यिनै परम्परा र संस्कारको जगेर्ना गर्नका लागि ललितपुर बौद्ध विहार संघले विभिन्न अभ्यासहरू गर्दै आइरहेको छ।
यसैक्रममा व्योम कुसुमा महाविहार, विशालनगरका शरणनायक परमपूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीसँग बौद्ध विहार संघ तथा बौद्ध शिक्षाका प्रशिक्षक एवं विद्यार्थीहरूबीच दर्शन भेट सम्पन्न भएको छ। सो क्रममा श्रद्धेय रिन्पोछे रत्नश्रीले वज्रयानको इतिहास, वज्रयान परम्परा अनुसार गरिने ध्यान तथा महाक्रम साधना, वज्रयानको अभ्यासमा गरिने समथा र विपश्यना ध्यान, तथा गुह्य साधनाहरू किन आवश्यक हुन्छन् भन्ने विषयमा जानकारी दिनुभएको छ। प्राचीन समयमा नेपाल मण्डलमा प्रचलित वज्रयान परम्परा अनुसार गुरु वज्राचार्यहरूबाट गरिने चर्याहरू क्रमशः हराउँदै गएका छन्। ती अभ्यासहरूलाई पुनः स्थापित गरी निरन्तर अभ्यासमा ल्याउने उद्देश्यले ललितपुर बौद्ध विहार संघले विभिन्न अभ्यास कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। सो अवसरमा परमपूज्य विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेलाई मण्डला अर्पण गरिएको थियो। नेपालको प्राचीन वज्रयान बौद्ध परम्परालाई शताब्दीयौँदेखि यहाँका सिद्ध वज्राचार्य गुरुहरूले संरक्षण गर्दै आइरहनुभएको छ। जसअन्तर्गत नेवाः साहित्य, वंशावली तथा इतिहासमा सिद्ध वज्राचार्य गुरुहरूको विशेष वर्णन पाइन्छ। उहाँहरूले आफ्ना कठोर साधना र तान्त्रिक शक्तिद्वारा असम्भवलाई सम्भव तुल्याउनुभएको थियो।
तर समयको अन्तरालसँगै वज्रयानी बुद्ध धर्मका कतिपय गुह्य पक्षहरू ओझेलमा पर्दै गएका छन्। ती पक्षहरूलाई उजागर गर्ने उद्देश्यले बौद्ध विहार संघले विभिन्न अभ्यास कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। यसले नेपाल मण्डलका प्रमुख महाविहारहरूमा प्रचलित प्राचीन परम्परालाई जीवित राख्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।