नेपालमा भिक्षुहरुको पदयात्रा

img

करुणा लामिछाने, काठमाडौं   
भगवान् बुद्धको जन्मभूमिबाट शान्तिको सन्देशलाई पुनः उजागर गर्ने उद्देश्यले सुरु गरिएको शान्ति पदयात्रामा थाइल्यान्ड, लाओस र कम्बोडियाका ६० जना श्रद्धेय भिक्षुहरूको सहभागिता रहेको छ। माघ १५ अर्थात् जनवरी २९ तारिखदेखि स्वयम्भू महाचैत्यको पवित्र परिसरबाट सुरु भएको यो यात्रा सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिले अत्यन्तै महत्वपूर्ण बनेको छ। धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्वयम्भू महाचैत्यदेखि बौद्ध स्तूप, पाटन पोखरामा अवस्थित शान्ति स्तूप, ऐतिहासिक भूमि पाल्पा, देवदह र रामग्राम स्तूप हुँदै कपिलवस्तुबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्मको यो यात्रा भौगोलिक दूरी मात्र होइन, शान्ति, सहिष्णुता र अन्तर्राष्ट्रिय बौद्ध एकताको प्रतीकात्मक यात्रा पनि हो। यो यात्राले नेपालको बहुसांस्कृतिक समाजमा गहिरो प्रभाव पार्ने सम्भावना बोकेको छ।
पदयात्रामा सहभागी भिक्षुहरूको उपस्थिति अन्तर्राष्ट्रिय बौद्ध समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउने संकेत हो भने नेपाली भिक्षु तथा स्थानीय समुदायको सक्रिय सहभागिताले राष्ट्रिय र स्थानीय स्तरमा शान्ति र करुणाभाव जगाएको छ। धार्मिक, सांस्कृतिक एवम् शान्तिको प्रतीकस्वरूप स्वयम्भू महाचैत्यको पवित्र परिसरबाट सुरु भएको यो पदयात्रालाई श्रद्धा र आध्यात्मिक पुनरुत्थानको प्रतिविम्बको उपमा दिनु उपयुक्त हुनेछ। यस यात्रामा टेकिएका श्रद्धेय भिक्षुहरूको प्रत्येक पाइलाले शान्ति, अहिंसा, करुणा र मैत्रीभावको छाप छोडिरहेको छ। यो पदयात्राले समुदायमा सहअस्तित्व र आपसी सम्मानको भावना जगाउनेछ। यो नेपालको सांस्कृतिक पहिचान, अन्तर्राष्ट्रिय बौद्ध एकता र सामाजिक समावेशिताको प्रतीकात्मक अभिव्यक्ति हो, जसले शान्ति शिक्षा, धार्मिक सहिष्णुता र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने सम्भावना बोकेको छ। यस यात्रालाई सही तरिकाले व्यवस्थापन गरी स्थानीय समुदाय, धार्मिक संघसंस्था तथा सरकारबीच समन्वय कायम गर्न सकियो भने यस यात्रालाई भावी पुस्ताले शान्ति र सहअस्तित्वको एक जीवित पाठशालाका रूपमा अध्ययन गर्न पाउनेछन्। यो यात्रा प्रदर्शनभन्दा बढी शान्ति र आध्यात्मिक परिवर्तन ल्याउने प्रयास हो। बुद्ध शिक्षालाई केवल दर्शन र ग्रन्थमा मात्र सीमित नराखी जीवनमा लागू गर्ने प्रयास हो।
शान्ति केवल राजनीतिक घोषणाहरू वा सैन्य सम्झौताहरूबाट मात्र सुनिश्चित हुँदैन; शान्ति व्यक्तिगत र सामूहिक चेतनाको परिवर्तनबाट जन्मिन्छ। जब मानिसहरूले एकअर्कालाई मान्ने, सुन्ने र बुझ्ने अभ्यास गर्छन्, तब हिंसा र द्वन्द्वका बीउहरू आफैँ मेटिन्छन्। यस यात्राले बुद्धभूमि नेपालको बहुसांस्कृतिक समाजमा सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणको मार्ग निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। भगवान् बुद्धको जन्मभूमिबाट निस्किएको यो यात्राले मानव समुदायमा एक प्रकारको “शान्तिको भूकम्प” उत्पन्न गर्ने क्षमता बोकेको छ। पूर्वदेखि पश्चिमसम्मका प्राचीन बौद्ध स्थलहरूमा फैलिएको यस यात्राले विश्वमा धर्मले कसरी सामाजिक मेलमिलाप र शान्ति कायम गर्न योगदान पुर्‍याउन सक्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।