पुनः उत्खनन सुरु

img

करुणा लामिछाने, काठमाडौं    
प्राचीन कपिलवस्तुस्थित तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले यस वर्ष पुनः उत्खनन सुरु गरिएको छ। गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न इकोमोसको बैठकमा तिलौराकोटलाई सूचीकरणका लागि प्रस्ताव गरिएको भए पनि रिफर गरिएपछि यस वर्ष फेरि उत्खनन थालिएको हो। तिलौराकोट राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष बिताउनुभएको ऐतिहासिक स्थल हो।
पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषको आयोजनामा बेलायतको डरहम विश्वविद्यालयका विज्ञद्वारा उत्खनन सुरु गरिएको हो। उत्खनन तथा अनुसन्धान कार्य करिब २० दिनसम्म सञ्चालन हुने जनाइएको छ। यस वर्ष अघिल्लो पटक फेला परेको सेन्ट्रल कम्प्लेक्सको पुनः उत्खनन र अनुसन्धान गरिनेछ। नेपालका १५ वटा सम्भावित सूचीमध्ये तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने तयारी भइरहेको छ। विगत वर्षहरूमा पोखरी उत्खननका क्रममा मौर्यकालीन पोखरीको भग्नावशेष, कुषाणकालीन सिक्का, पाञ्चमार्क सिक्का तथा विभिन्न किसिमका माटोबाट बनेका आकृतिहरू फेला परेका थिए। साथै तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, दरबारको पूर्वी प्रवेशद्वार, कन्थक स्तूप, शिवगढ तथा तिलौराकोटको उत्तरतर्फको खाली क्षेत्रमा उत्खनन गरिएको थियो।
तिलौराकोटमा सन् २०१४ देखि विज्ञहरूको टोलीले १० वर्षदेखि उत्खनन तथा अनुसन्धान गर्दै आइरहेको छ। तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र बनाउन विगत एक दशकदेखि जग्गा अधिग्रहणको कामसमेत जारी रहेको छ। २०७३ सालदेखि ५० बिघाभन्दा बढी जग्गा अधिग्रहण भई तिलौराकोट क्षेत्र हाल करिब १०० बिघासम्म विस्तार भइसकेको छ।