काठमाडौँ,
बुद्ध शिक्षालाई जनजनसम्म पुर्याउने र सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले तिनचुलीस्थित नाम्ग्याल झ्याङछुब छोएलिङ गुम्बामा जारी बौद्ध शिक्षा तथा धर्मदेशना कार्यक्रम अन्तर्गत शुक्रबार शे नाम्खा दोर्जे रिन्पोछेबाट धर्मदेशना गरिएको छ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा सञ्चालन भइरहेको दस दिने कार्यक्रम आनन्दपुर महिला समाज र नाम्ग्याल रिन्चेन मणि छोक्पा समितिद्वारा आयोजना गरिएको हो। सो कार्यक्रममा आचार्य लोक्साङ टासी, आचार्य थुप्तेन तामाङ, शे नाम्खा दोर्जे रिन्पोछे, खेन्पो सर्वजित गोङ्बाबाट बौद्ध दर्शन र भगवान बुद्धका जीवन उपयोगी शिक्षाबारे देशना हुने क्रममा शुक्रबार शे नाम्खा दोर्जे रिन्पोछेबाट ध्यान सम्बन्धी देशना गरिएको हो।
भगवान बुद्धका शिक्षालाई जन–जनमा पुर्याउने र बुद्धको ज्ञानमार्फत मानिसको जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो। कार्यक्रमको माध्यमबाट जनमानसमा बुद्ध शिक्षालाई अझ पहुँचिलो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। गत बुधबारदेखि सञ्चालन हुँदै आएको सो कार्यक्रम शनिबार समापन हुनेछ।