श्रद्धेय भिक्षु थावरो भन्ते कुलपुत्र प्रव्रज्या कार्यक्रमको पूर्वतयारीको लागि नेपालमा

img

काठमाण्डौ –  थाइल्याण्डको धम्मकाय विहारका बोर्ड सदस्य रहनुभएका  श्रद्धेय भिक्षु थावरो भन्ते कुलपुत्र प्रव्रज्या कार्यक्रमको पूर्वतयारीको लागि नेपाल आउनुभएको छ । विगत दशक भन्दा अघिदेखि भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा सामूहिक कुलपुत्र प्रव्रज्या कार्यक्रम गर्न धम्मकाय विहारका तर्फबाट उहाँले संयोजन गर्दै आउँनुभएको छ । यी कार्यक्रमहरूमा थाइल्याण्डका धम्मदायद संघ, नेपाल सहित विभिन्न देशका शुभेच्छुकहरूको सहयोग हुँदै आएको छ । त्यस्तै नेपालको भिक्षु महासंघ, अनागारिका गुरुमांहरू, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायत विभिन्न बौद्ध संघसंस्थाहरूले कार्यक्रममा सहयोग र सहभागिता गर्दै आएका छन् । यस वर्ष सम्पन्न कार्यक्रममा पाँच सय व्यक्ति प्रव्रज्जित भएका थिए । विगतका कार्यक्रमहरूमा प्रव्रज्जित भएका मध्येबाट केही हाल भिक्षुको रुपमा थाइल्याण्डमा बौद्ध अध्ययन र अभ्यासमा निरन्तर लागिरहनु भएको छ । बुद्धको जन्मभूमि नेपालमा हुने आगामी सन् २०२४ को प्रव्रज्या कार्यक्रममा एक हजार जना भन्दा भढी व्यक्तिले भाग लिने गरी कार्यक्रम निर्धारण गरिएको बताइएको छ । बौद्ध परम्परामा संसारमा मानव भएर जन्म हुनु, बुद्धसासनको समयमा जन्म हुनु, प्रव्रज्जित हुनु जस्ता दुर्लभ अर्थात् सजिलै हुन नपाइने संयोगका रूपमा अत्यन्त श्रद्धापूर्वक लिने गरिन्छ । भगवान् बुद्धका जीवनीसँग संबन्धित अति महत्वपूर्ण ‘चतु संवेजनीया नीठानानि’ अर्थात् चार संवेजनीय स्थानहरू मध्येको सर्वोपरि महत्वको स्थान लुम्बिनीमा निरन्तर रूपमा प्रव्रज्या कार्यक्रम हुनु सर्वथा गौरवको विषय हो । विश्वशान्तिको मुहान लुम्बिनीमा आयोजना गरिने यस्ता हरेक कार्यक्रमबाट सहभागी तथा सहयोगीहरूमा बौद्ध ज्ञान, ध्यान भावना एवं अभ्यासको अभिवृद्धि हुने र व्यक्ति–व्यक्तिको अन्तरमनको शान्तिबाटै विश्वशान्तिको जग बस्ने भएकोले बुद्ध र लुम्बिनी प्रति श्रद्धावान् सबैबाट यस्ता कार्यक्रममा सहयोग हुनु ठूलो पूण्यको हेतु हुनेछ ।

img