इतिल्हने सम्यक पर्व आँउदो फागुन १४ र १५ गते हुने

बोधी संवाददाता
ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

यस पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षुहरु तथा ललितपुरका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट देवदेवताहरु बोलाई ललितपुरको नागबहालमा ल्याएर सँगै पूजा एवं दानप्रदान गर्ने परम्परा रहेको छ ।
यसका लागि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवदेवीहरुलाई विशेष आमन्त्रण गरेर पूजास्थलमा भेला गराइन्छ ।

यस विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस पर्वका प्रचार प्रसार संयोजक लोकमान शाक्यले फागुन १४ गते बुधबार बेलुकी ७ बजे ती देवताहरु पाटन दरवार क्षेत्रमा भेला गराइ राती १० बजे नागबहालमा बिराजमान गराइने र १५ गते बिहिबार मूल आयोजक व्यक्तित्वहरु अथवा आःजुहरुद्वारा पूजा गरी सम्यक महादन पर्व सम्पन्न हुने जानकारी दिनुभयो ।

यस पर्वलाई हिरण्यवर्ण महाविहार क्वाबहालका विभिन्न बौद्ध पर्वहरु मध्ये एक अद्वितीय पर्व भएको बताइएको छ ।

1 month ago/Wednesday, February 19th, 2020 /