पूर्व मेयर शाक्यको अन्तिम संस्कार

बोधी संवाददाता
ललितपुर, फागुन ५ । बौद्ध उपासक, समाजसेवी एवं नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको सोमबार बागमति स्थित शंखमुल घाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

उहाँलाई दागबत्ती दिएको स्थलमा उहाँका परिवारजनका साथै थुप्रै बौद्ध विद्वानहरु, उपासक उपासिकाहरुका साथै राजनीतिकर्मीहरुको पनि उपस्थिति थियो ।

८८ वर्षका उहाँ केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो र करिब ७ महिनादेखि मेडिसिटीमा उपचाररत हुनुहुन्थ्यो । । उहाँको श्रीमति, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

२००७ सालमा निर्वासनमा परेका भन्तेहरु नेपालमा फर्केर आएदेखि उहाँले बुद्ध धर्मको लागि आफ्नो जीवन अर्पण गर्नुभयो । कुनैबेला नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिक परिवर्तनका लागि सक्रिय जीवन बिताउनुभएको शाक्य १७ सालको परिवर्तन पछि धेरै समय निर्वासनमा मलेशिया र हंगकंग बस्नुभयो र ४६ साल पछि मात्र नेपालमा फर्कनुभयो । त्यस पछि स्थानीय चुनावमा ललितपुर नगरपालिकाको चुनामा मेयरका रुपमा निर्वाचित हुनुभयो ।

आइतबार बिहान निधन भएका शाक्यको पार्थिव शरिरलाई दिनभर उहाँको निवास सानेपामा राखिएको थियो ।

6 months ago/Monday, February 17th, 2020 /