पूर्व मेयर बेखारत्न शाक्यकाे निधन

बोधी संवाददाता
ललितपुर, फागुन ४ । बौद्ध उपासक, समाजसेवी एवं नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यकाे आइतबार बिहान निधन भएको छ ।

उहाँको पार्थिव शरिरलाई आज उहाँको निवास सानेपामा राखिएको थियो भने सोमबार करिब ११ बजे गुथियारहरुको सहयोगमा शवयात्रा गरी अपरान्ह शंखमुलमा बौद्ध संस्कार अनुसार अन्तिम संस्कार गरिने उहाँका परिवार सदस्यहरुले जानकारी दिनुभएको छ ।

८८ वर्षका उहाँ केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो र करिब ७ महिनादेखि मेडिसिटीमा उपचाररत हुनुहुन्थ्यो । । उहाँको श्रीमति, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

२००७ सालमा निर्वासनमा परेका भन्तेहरु फेरि नेपालमा फर्केर आएदेखि उहाँले बुद्ध धर्मको लागि आफ्नो जीवन अर्पण गर्नुभयो । त्यही बेलामा उहाँले आफ्नो कार्यक्षेत्र त्रिशुलीमा सक्रिय भएर सुगत बौद्ध मण्डल नामक संस्था बनाएर त्यहाँ बुद्धधर्मको पुनरुत्थानमा लाग्नुभयो । यहाँ ललितपुर फर्केर पनि यहाँ विभिन्न धार्मिक संघसंस्थाहरुमा रहेर सक्रिय सहयोग गर्नुका साथै उहाँले बौद्ध पुस्तक प्रकाशन गर्न र विहार निर्माण गर्न पनि आर्थिक सहयोग गर्दै आइरहनुभएको थियो ।

कुनैबेला नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिक परिवर्तनका लागि सक्रिय जीवन बिताउनुभएको शाक्य १७ सालको परिवर्तन पछि धेरै समय मलेशिया र हंगकंग बस्नुभयो र ४६ साल पछि मात्र नेपालमा फर्कनुभयो । त्यस पछि स्थानीय चुनावमा ललितपुर नगरपालिकाको चुनामा मेयरका रुपमा निर्वाचित हुनुभयो ।

6 months ago/Sunday, February 16th, 2020 /