लुम्बिनीमा खुल्यो थेरवाद बौद्ध संग्रहालय

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, माघ १२ । लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भु चैत्यमा बौद्ध महिला संघ नेपालले हालै निर्माण गरेको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार एक कार्यक्रममा गर्नुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त संग्रहालयले नेपालमा बुद्धधर्मको जानकारी दिने एक केन्द्रको अभाव टार्ने एवं यसले लुम्बिनीकै गरिमालाई बढाउने पनि विश्वास व्यक्त गर्नुभयो । यसका साथै उहाँले नेपालका बौद्धहरुले आफ्नो संस्कारगत कार्य लुम्बिनीमा आएर गर्न पनि अपिल गर्नुभयो ।
बौद्ध महिला संघ नेपालका सल्लाहकार एवं उद्योगपति पद्मज्योतिले नेपालको थेरवाद बुद्धधर्मको विकासको सचित्र वर्णन गर्ने ठाउँ पनि नभइरहेको अवस्थामा यस संग्रहालयले सबै नेपाली तथा विदेशीहरुलाई नेपालमा बुद्धधर्मको विकासमा के कस्तो चरणहरु पार गर्नुपर्योभन्ने जानकारी दिएको बताउनुभयो ।
संग्रहालय निर्माण समितिका संयोजक डा. केशरी लक्ष्मी मानन्धरले धेरै समयदेखि संग्रहालय बनाउने सोचका साथ अघि बढिरहेको भएतापनि प्रदर्शनका लागि आवश्यक विभिन्न बस्तुहरु संकलन गर्न कठिन भएकोले ढिलाइ भइरहको सुनाउनुभयो ।
कार्यक्रममा संघनायक ज्ञानपूर्णिक महास्थविरको शुभकामना सन्देश भिक्षु बोधिज्ञान महास्थविरले बाचन गर्नुभएको थियो ।
दाताहरुको प्रतिनिधित्व गर्दै द्रव्यमानसिं तुलाधरले जनसहभागिताबाटै यस्तो संग्रहालयको निर्माण हुनुभनेको समस्त बौद्ध जगतका लागि खुशीको कुरा भएको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल भिक्षु संघका अध्यक्ष भिक्षु मैत्री महास्थविर , भिक्षुणी डा. अनोजा गुरुमां, लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्ते, सांसद फकरुद्धिन खान, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्य, धम्र्मोदय सभाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धर आदि बौद्ध विद्वान व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।
कार्यक्रममा प्रमखु अतिथि मुख्यमन्त्री पोिखरेल तथा विशिष्ट अतिथि मेत्तेय भन्तेले संग्रहालय डिजाइन गर्ने संग्रहालयविद जलकृष्ण श्रेष्ठ र व्यवस्थापक कर्ण महर्जनलाई विशेष कदर पत्र तथा अन्य दाताहरुलाई उपहार प्रदान गर्नुभएको थियो ।
यस संग्रहालयमा नेपालमा थेरवाद बुद्धधर्मसंग सम्बन्धित प्राचिन अभिलेखहरुका साथै पुर्नजागरणका प्रमुख भन्तेहरुको फोटोग्राफहरु, चित्रहरु, तथा ऐतिहासिक सामाग्रीहरु, भन्ते तथा गुरुमांहरुका व्यक्तिगत जीवनका सामाग्रीहरु, थेरवाद बौद्ध मूर्तिहरु तथा साहित्यहरुको संकलन भएका छन् ।

9 months ago/Tuesday, January 28th, 2020 /