बोधि टेलिभिजन तथा बोधि सहकारी संस्थाको वार्षिकोत्सव सम्पन्न

बोधी संवाददाता
ललितपुर, पुष २६ । नेपालको पहिलो र एक मात्र बौद्ध टेलिभिजन च्यानल बोधि टेलिभिजनको तेश्रो तथा बोधि बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ ।

यस समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले बुद्धको शिक्षा जनमानसमा चाँडै र प्रभावकारीरुपमा फैलाउनको लागि बौद्ध मिडियाहरुको महत्वको बारेमा बताउनु भयो । उहाँले नेपालका तीनै यान, थेरवाद, महायान तथा वज्रयानको सैद्धान्तिक र अभ्यासको बारेमा प्रचारप्रचार गरिरहेको बोधि टेलिभिजनको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले समयअनुसार अब बोधि टेलिभिजन स्याटेलाइटको माध्यमद्वारा विश्वभर नै जानुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो ।

त्यस्तै पूर्वरक्षमन्त्री एवं सभासद् भिमसेनदास प्रधानले नेपालमा हिंसाकार्य बन्द गरिनुपर्ने र अहिंसाको ज्ञान भगवान बुद्धले दिनुभएको प्रसंगमा चर्चा गर्नुभयो ।
संघउपनायक भिक्षु बोधिसेन महास्थविरले सबै बौद्धहरुले बुद्धधर्मको चीरस्थायीत्वको लागि बोधि टेलिभजनलाई सबल र दीगो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैलाई कमसेकम दिनको एक कप चिया बराबरको पैसा भएपनि बचत गरेर बोधि टेलिभिजनलाई जीवन्त राख्न पनि अनुरोध गर्नुभयो ।

त्यस्तै अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्य महास्थविरले तीनै यानका प्रमुख गतिविधि, सैद्धान्तिक बहस र विश्वका बौद्धहरुको बारेमा कार्यक्रम बनाएर बोधि टेलिभिजनले विश्वकै बौद्धहरुको ध्यान आकर्षण गर्नुपर्ने बताउनुभयो ।
यसका लागि खर्चिलो भएपनि स्याटेलाइट प्रविधिमा प्रवेश गरेर यसलाई अझ ब्यापक बनाउनुपर्ने पनि उहाँको विचार थियो ।

डा. अनोजा गुरुमांले बोधि टेलिभिजन अहिले बौद्ध उपासक उपासिकाहरुको बिच एकदम लोकप्रिय तथा उपयोगी हुँदै आइरहेकोमा यसलाई अब सबैले मिलेर दीगो बनाउनुपर्ने बताउनुभयो ।

धर्मोदया सभाका महासचिव सागरमान वज्राचार्यले नेपालमा बुद्ध धर्मको विकास र प्रचार प्रसारमा राज्यले सन्तोषजनक रुपमा काम नगरिरहेको अवस्थामा निजीस्तरबाट नै बोधि टेलिभिजनकले निकै प्रशंसनीय कार्य गरिरहेको भनी प्रशंसा गर्नुभयो ।

बोधि टेलिभिजनको कार्यक्रम संचालन व्यवस्थापन कार्यसमितिका अध्यक्ष मोतिलाल शिल्पकारले बुद्ध धर्मको प्रचारप्रचारमा बोधि टेलिभिजनले अद्वितीय कार्य गर्दै आइरहेको स्मरण गर्दै यसले आगामि दिनमा अझ बढी परिष्कृत कार्यक्रमहरु निर्माण गरी झन धेरै दर्शक माझ समेत जाने विश्वास व्यक्त गर्नुभयो ।

शाक्य महाविहार संघका सचिव संघरत्न शाक्यले बोधि टेलिभिजनलाई सम्पूर्ण बौद्धहरुले आफ्नो सम्झेर तन, मन र धन दिएर सहयोग गर्दै जानुपर्नेै बताउनुभयो ।

कार्यक्रममा बोधि टेलिभिजनको संचलन गर्ने संस्था बोधिग्रामका अध्यक्ष संजीव तुलाधरले तीन वर्षको दौरानमा अनेक उतार चढाव पार गरेर यसले एक दुरी सफलतापूर्वक पार गरेकोमा अब सबैको अझ धेरै माया र सहयोगको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रमको शुरुवातमा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले बोधिदीप बालेर उद्घाटन गर्नुभएको थियो भने तीनै यानलाई प्रतिनिधित्व गर्ने किसिमबाट बौद्ध भन्ते, गुरुमां, वज्राचार्य गुरुहरु तथा आनी छोइङ डोल्माले मंगलबाचन पनि गर्नुभएको थियो ।

त्यस्तै बोधि टेलिभिजनका संस्थापक अध्यक्ष दीवंगत धर्मपाल महास्थविरको तस्बिर अगाडि दीप प्रज्वलन पनि गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा बौद्ध परम्पराअनुसार भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गर्नुभयो, तथा अन्त्यमा पुण्यानुमोदन पनि गर्नुभयो ।

सोही कार्यक्रममा बोधि बचत तथा ऋण सहकारी संस्था लि.को प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।

 

rzm

6 days ago/Sunday, January 12th, 2020 /