असनमा महापरित्राण कार्यक्रम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, पुष ६ । काठमाडौं उपत्यकामा रहेका विभिन्न सामाजिक संस्थाहरुले स्थनीय तवरमा बुद्धधर्मको प्रचार प्रसार गर्ने एवं धर्मसम्बन्धी जनचेतना जगाउने कार्यक्रम गर्ने क्रम शुरु भएको छ । यसै क्रममा काठमाडौं असनस्थित भिंतुना गुथिको आयोजनामा शनिबार महापरित्राण कार्यक्रम सम्पन्न भयो ।
विश्वका सकल प्राणीहरुको सुख र शान्तिको कामना गर्दै अखिल नेपाल भिक्षु महासंघले दिनभरी असको डबलीमा निर्मित विशेष मण्डपबाट महापरित्राण पाठ गर्नु भयो ।
कार्यक्रममा श्रद्धेय बोधिसेन महास्थविर भन्तेले उपस्थित सबै उपासक उपासिकाहरुलाई त्रिरत्न बन्दना गराउनुभयो भने गुणघोष महास्थविर भन्तेले पंचशिल प्रदान गर्नुभयो ।
त्यस्तै शरणंकर भन्तेले धर्मदेशना दिनु हुँदै महापरित्राणको परिचय दिनुभयो तथा यसको धर्मिक तथा सामाजिक महत्वको बारेमा चर्चा पनि गर्नुभयो ।
त्यसपछिको कार्यक्रममा श्रद्धेय भन्तेहरुले आलोपालो गर्नु हुँदै महापरित्राण पाठ गर्नु भयो । कार्यक्रम पश्चात् त्यहाँ उपस्थित भन्तेहरु तथा गुरुमांहरुका लागि स्थानीय उपासक उपासिकाहरुका तर्फबाट दानप्रदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा करिब १५० जनाजति भन्तेहरु तथा गुरुमांहरुका साथै ठुलो संख्यामा उपासक उपासिकाहरुको उपस्थिति थियो ।

rzm

2 months ago/Sunday, December 22nd, 2019 /