त्रिपिटक वाचनको लागि सरोकारवालाहरुसँग छलफल शुरु

बोधी संवाददाता
असोज ३, काठमाडौं । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तराष्ट्रिय स्तरको त्रिपिटक वाचनको लागि विभिन्न सरोकारवालाहरुसँग यसका आयोजकले छलफल थालेको छ ।

कात्तिक २८ देखी ३० गते सम्म हुने उक्त कार्यक्रमका लागि सोमबार भैरहवा स्थित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको भेटघाट तथा छलफल अखिल नोपल भिक्षु महासंघमा अध्यक्ष् भिक्षु मैत्रीले उक्त त्रिपिठक पाठ कार्यक्रमले धेरैभन्दा धेरै बौद्धहरुलाई नेपालको लुम्बिनीमा आउन प्रेरित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो — १५ बर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम हुँदा पनि बुद्धको जन्म स्थल लुम्बिनीमा आजसम्म एकपटक पनि हुन सकेको थिएन । यो वर्ष हामी सबैको सहयोगले अखिल नेपाल भिक्षु महासंघ र राजकीय थाइ बौद्ध मन्दिरको सहकार्यको सहयोगबाट यो सम्भव भएको छ । यसमा सबैको सहयोग को अपेक्षा गरिन्छ ।

उक्त कार्यक्रममा सहभागी सबै क्षेत्रका प्रतिनिधिहरुको यस कार्यक्रमलाई सहयोग गरेर नेपालको छवि अन्तर्राष्ट्रिय बौद्ध जगतमा उच्च राख्ने प्रतिवद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले यस कार्यक्रमलाई सफल बनाउन प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 


लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले त्रिपिटक वाचन कार्यक्रमले विश्वमा लुम्बिनीलाई बुद्ध जन्मभूमि भनेर चिनाउन भूमिका खेल्ने भनएको ले कोषले पनि सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रम सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।
तीन दिनको कार्यक्रम अनुसार पहिलो थाइ भिक्षुहरुको नेतृत्वमा पाठ हुन्छ । भोजन पछि नेपाली भिक्षुहरुको नेतृत्वको सत्र शुरु हुन्छ । त्यसपछि क्रमशः बर्मा, श्रीलंका र क्याम्बोडियाका भिक्षुहरुको नेतृत्वमा पाठ हन्छ । दोश्रो दिनको सत्रको नेतृत्व महायनी अथवा हिमाली लामाभिक्षुहरुले गर्नुहुनेछ । यसपछि चीनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वको सत्र चल्ने छ । तेश्रोदिनमा थाइ भन्तेहरुको नेतृत्वमा पाठ शुरु हुनेछ । पछिको सत्रमा नेपाली आनागारिकाहरु र आनीहरुले पाठको नेतृत्व लिनुहुनेछ । तेश्रो दिनको पाठ सकिएपछि त्यहाँ पाठ कार्यक्रममा सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरको वरिपरी मैनबत्ती सहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलन कार्यक्रम हुनेछ ।

तीनदिन सम्म चल्ने हुने त्रिपिटक वाचन कार्यक्रममा १८ देशका लगभग ५ सय भिक्षु लामा अानी अनागािरकाको उपस्थिति आयोजकहरुले बताएका छन् ।

3 years ago/Wednesday, September 19th, 2018 /