करुणामय बुंगद्यःको रथजात्रा सम्बन्धी प्रदर्शनी

बोधी संवाददाता
ललितपुर, असार १३ । अन्र्तराष्ट्रिय संग्रहालय दिवसको उपलक्ष्यमा पाटन संग्रहालयमा रातो मच्छिन्द्रनाथ, करुणामय बुंगद्यःको रथजात्रा सम्बन्धी प्रदर्शनी भइरहेको छ ।
पाटन संग्रहालयको आयोजनामा अगष्ट ११ सम्म हुने उक्त प्रदर्शनीमा रथका विभिन्न भागहरु जस्तै ह्यगृव भैरवको मुखौट, पताः आदि प्रदर्शनमा राखिएको छ जुन १८ र १९ औं शताब्दीमा बनेका हुन् ।
नरेन्द्रदेव राजाको पालादेखि हालसम्म निरन्तर संचालन भइरहेको मूर्त सम्पदाको रुपमा रहेको बुंगद्यःको रथजात्रा सम्बन्धी खिचिएका फोटोहरु तथा हुलाक टिकट पनि प्रदर्शनीमा राखिएका छन् । यसैगरी रथको तल्लो भागमा रहने ४ वटा पांग्राहरुमध्ये २०५६ सालमा प्रयोग गरिएको एउटा पांग्रा, पाटन संग्रहालयको मूलढोका बाहिर नै प्रदर्शन गरीएको छ ।
अन्तर्राष्ट्रिय संग्रहालय दिवसको उपलक्ष्यमा पाटन संग्रहालयले हरेक वर्ष यस्ता मूर्त र अमूर्त सम्पदाहरुको प्रदर्शनी गर्र्दै आइरहेको र यसमा स्वदेशी तथा विदेशी पर्यटकहरुको सहभागिता रहेको पाटन संग्रहालयका कार्यकारी निर्देशक सन्दिप खनालले बताउनुभयो ।
यसैगरी संग्रहालयका अधिकृत सुरेशमान लाखेले उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक रुपमा महत्वपूर्ण भएकाले बुंगद्यःको रथजात्राबारे प्रदर्शनी गरिएको बताउनुभयो । साथै रथ बनाउन विभिन्न जातीहरुको संलग्नता रहने र रथ बनाउन लागि प्रयोग हुने विभिन्न सामाग्रीहरु उपत्यकाको गोदावरी लगायत भारतको आसामबाट बेत ल्याउने गरेको पनि जानकारी दिनुभयो ।

BMS

5 months ago/Friday, June 28th, 2019 /