मध्यपुर ठिमीमा रहेको करुणामयको रुप फेर्ने जात्रा सम्पन्न

राजेन मानन्धर /बोधी संबाददाता
मध्यपुर ठिमी, जेठ २६ । पाँच दिनको पुजाविधिको पूर्णता पछि यहाँस्थित करुणामयको मूर्तिमा नयाँ रंगरोगन लगाएर मन्दिरमा विराजमान गराइएको छ ।

करिब दुइफीट अग्लो काठको पद्मपाणी लोकेश्वरको मूर्तिलाई ठिमीका बौद्धहरुले आफ्नो सबैभन्दा ठुलो आराध्य देवका रुपमा पूजा गर्दै आएका छन् ।

गत मंगलबार यहाँको मरुटोलमा स्थित मन्दिरबाट उक्त मूर्तिलाई बाहिर निकाली विशेष पूजाद्वारा यस मूर्तिमा रहेको जीवन्यासलाई १५० वर्ष पुरानो एउटा तामाको घडामा राखी यस मूर्तिलाई वज्रयानी परम्परा अनुसार स्नान, अर्थात् “न्हवं” गराइएको थियो । यसमा यस पूजाविधिमा संलग्न हुनुपर्ने चारजना वज्राचार्य गुरुहरु र द्यःपाःलाःको संलग्नता थियो ।

यस स्नानपछि उक्त मूर्तिलाई सेतो कपडाले बेरेर यस स्थान भन्दा करीब आधा किलोमिटर टाढा रहेको जीस्वां बहालमा रहेको एक गोप्य कोठामा लगेर राखियो ।

त्यसपछि बिहीबार त्यस मूर्तिमा काठमाडौंका परम्परागत चित्रकारले पुनः रंग भर्ने काम अर्थात् “लपुं छायेगु” गरी शुक्रबार त्यहाँहाल आधुनिक ढंगले बनाइएको घरको छिँडीमा राखेर दिन भरी नै पूजा गरी कलशमा सारिएको जीवन्यास यस मूर्तिमा प्रतिष्ठापन गरियो । त्यस पछि उक्त मूर्तिमा बौद्ध नेवारहरुका प्रचलित सबै जन्मसंस्कारहरु गराइयो । यसरी यी संस्कारहरु गराएर बुद्ध धर्म र नेवार संस्कार प्रति सामान्य जनसमुदायलाई सचेत गराउने प्रयास गरिएको पाइन्छ ।

करुणामयको नयाँ रुपमा जन्म भएको विश्वासका साथ उक्त नयाँ मूर्तिलाई बाहिर फलेचामा राखेर सबै स्थानीयहरुको पूजा लिए पछि अन्तमा शनिबार साँझ बाजागाजाका साथ जात्रा गरी मन्दिरमा फर्काइएको थियो ।

बोधी टेलिभिजनसँग कुरा गर्दैै उक्त पूजा आफ्ना सन्ततिले आफ्नै खर्चले चलाइरहेको र हालसम्म पनि यावत समस्या र अभावको बावजुद पनि जात्रा संचालन भइरहको बताउँदै गुथियारहरु मध्ये एक ८४ वर्षीय हेरा वर्ण वज्राचार्यले यसका लागि सबै जनसमुदायलाई धन्यवाद पनि दिनुभयो ।

करुणामयको प्यागोडा शैलीको दुइतले मन्दिर र मूर्ति कहिले देखि बनेको भन्ने ऐतिहासिक प्रमाणहरु नभेटिएपनि जुन बेला कामुनि देशबाट करुणामय ल्यायो, त्यसै बेला नै, अर्थात् सातौ शताब्दीमा यहाँ पनि यस मूर्ति स्थापना गरिएको भनेर स्थानीयहरु विश्वास गर्छन् ।

4 months ago/Monday, June 10th, 2019 /