भोटो देखाएर करुणामयको जात्रा सम्पन्न

बोधी संवाददाता
ललितपुर, जेष्ठ २६ । किंवदन्तीसँग जोडिएको एउटा भोटो देखाउने कार्यसँगै जगत संसारको उद्धार नगरी बुद्ध समेत बन्दिन भनेर प्रतीज्ञा गरेर बसेका भनेर विश्वास गरिने करुणामय अथवा अवलोकितेश्वरको एक महिना लामो जात्रा सकिएको छ ।
कुनैबेला एक नागराजाले स्थानीय किसानलाई दिएको उक्त भोटो हराएको र एक दिन जात्रामा कसैले सो भोटो लगाएर जात्रा हेर्न आएपछि विवाद बढेर त्यसलाई बुंगद्यःको जिम्मा लगाइएको जनश्रुति अझै बाँकी छ ।
विशाल जनसमुदायको अगाडि आइतबार जावलाखेलमा उक्त भोटो देखाउने काम सकिएपछि करुणामयको मूर्तिलाई खटमा राखेर त्यसलाई विशेष पुजारीहरुले बोकेर बुंगमती लगिएको थियो ।

वर्षा र सहकालका देवता भनेर मानिएको तथा गैर बौद्धहरुले रातो मछिन्द्रनाथ पनि चिनिने बुंगद्यःकोे जात्राको अन्तिम दिनमा स्थानीय जीवित देवी कुमारीको उपस्थिति पनि अनिवार्य मानिन्छ ।
तीन दर्जन भन्दा बढी गुथिहरुको सहभागितामा सम्पन्न हुने सो जात्राको अन्तिम दिन त्यहाँ उपप्र्र्र्र्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल तथा अन्य मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, एवं ललितपुरबाट चुनिएका सांसादह्ररु उपस्थित थिए ।

विशेष अतिथिका लागि भनेर जात्रा क्षेत्रमा दिनभरी कडा सुरक्षाकाे व्यवस्था गरेकाेले जात्रालु र धर्मालम्बी भने कठिनाइ व्यहोर्नु पर्यो ।

फोटो सौजन्य ललितपुर फोटोग्राफी

3 months ago/Monday, June 10th, 2019 /