नेपालभरी बुद्ध जयन्ति मनाइयो

बोधी संवाददाता
काठमाडौं, जेठ ४ । विश्वभरीका बौद्धहरुले भगवान बुद्ध जन्मनुभएको बुद्धत्व लाभ गर्नुभएको र निर्वाण हुनुभएको दिन बैशाख पुर्णिमाको दिनलाई महत्वपूर्ण दिनको रुपमा मनाउँछन् । नेपालमा पनि विभिन्न बौद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरी देशभरी बुद्ध जयन्ति मनाए ।

२५६३ औ बुद्ध जयन्तिको अबसरमा बुद्धको जन्मभूमि लुम्बिनीमा केन्द्रित भई ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नाराका साथ हुने लुम्बिनी भ्रमण वर्षको औपचारिक शुभारम्भ भयो । बुद्ध जयन्तिको अवसर पारेर शनिबार राष्ट्रिपति विद्यादेवी भण्डारीले लुम्बिनीमा लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा तीर्थमार्गमार्फत जोड्न आग्रह गर्दै लामोसमयमा पनि लुम्बिनी गुरुयोजना पूरा नभएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै बुद्धको २५६३औँ बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहार काठमाडौंमा आयोजना गरिएको धार्मिक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान बुद्धले दिनुभएको बोधिज्ञानले २५०० वर्षभन्दाअघिदेखि विश्वलाई प्रज्वलित गरिरहेको बताउनुभयो । साथै उहाँले बुद्धधर्मले विश्वलाई शान्ति, सद्भाव तथा दया, माया तथा भ्रातृत्वभावको मार्ग देखाएको पनि स्मरण गराउनुभयो ।
सोही कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेराले बुद्धको ज्ञान आज पनि महत्वपूर्ण रहेको बताउँदै यसले विश्वभर शान्ति र सद्भाव फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

बुद्धजयन्ती समारोह समितिका अध्यक्ष एवं आनन्दकुटी विहारका प्रमुख भिक्षु मैत्रय महास्थविरले नेपालमै जन्मेका भगवान बुद्धको ज्ञान अहिले विभिन्न माध्यमबाट संसारकै कुना कुनामा फैलिरहकोमा खुशी व्यक्त गर्नुभयो ।

समितिका उपाध्यक्ष भिक्षु कौन्डण्य महास्थवीरले नेपालमा बुद्ध जयन्ति मनाउने परम्पराको बारेमा बोल्दै यसले नेपालभरीका बौद्धहरुलाई एकसुत्रमा बाँधेको पनि उल्लेख गर्नुभयो । उहाँले कुनै बेलामा नेपालमा बुद्धधर्मको प्रचार प्रसार गरेको आरोपमा भिक्षुहरुलाई देशनिकाला समेत गरेको प्रसंग उल्लेख गर्दै हाल नेपालका बौद्धहरुलाई आफ्नो धर्म अभ्यास गर्न कुनै कठिनाइ वा बाधा नभएको बताउनुभयो ।

वैशाख पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू, बौद्ध, चाबहिल, धर्मकीर्ति लगायत विभिन्न विहार, गुम्बा, स्तूप, चैत्यमा भिक्षु, गुरुमां लामा वा आनीहरुको नेतृत्वमा विभिन्न पूजाआजा, पाठ, दानप्रदान इत्यादि कार्यक्रम संचालन भए । त्यस्तै पाटन र भक्तपुरमा पनि बौद्ध सभा तथा रयाली गरेर बुद्ध पूर्णिमा मनाइए ।

त्यस्तै रुपन्देहीको लुम्बिनी, देवदह आदि स्थामा पनि बुद्धपूजा गरिएको समाचार प्राप्त भएको छ ।

राष्ट्रपतिकाे कार्यक्रमकाे फोटो सौजन्य रातोपाटी डटकम

2 years ago/Sunday, May 19th, 2019 /