इतुम्बहालमा तारा ब्रत सम्पन्न

बोधी संवाददाता
काठमाडौं, जेठ १ । आर्यतारा ब्रत व्यवस्थापन तदर्थ समितिको व्यवस्थापनमा सुकुकाजी महर्जन र दशमाया महर्जनको संयोजकत्वमा इतुम्बहालमा तारा ब्रत सम्पन्न भएको छ ।

उक्त तारा ब्रतमा मूल गुरुजु सुजन बज्राचार्यले तारा मण्डलको पुजा गर्नुभएको थियो । तारा ब्रत शुरु गर्न भन्दा पहिला जजमान सुकुकाजी महर्जन उनका परिवार र मूल गुरुजु बसेर पूजा संकल्प गर्नुभएको थियो ।

सहायक गुरुजु भुवन बज्राचार्यले ब्रतालुहरुलाई तारा ब्रत बस्न निर्देशन दिनुभएको थियो ।

ब्रतको अन्तमा उहाँ भुवन बज्राचार्यले कथा सुनाउनु भएको थियो । ब्रत बस्न सकेपछि ब्रतालुहरुलाई कथा भन्ने चलन रहेको छ ।

उक्त ब्रत कार्यमा कर्माचार्य गुरुजु अर्थात सहायक गुरुजुहरु लिलेन्द्र बज्राचार्य, सुरेश बज्राचार्य र मुसुमरत्न बज्राचार्य रहनुभएको थियो ।

आर्यतारा ब्रत बैशाख १ गतेबाट शुरु भएको र प्रत्येक महिनाको १ गते उपत्यकाका विभिन्न ठाउँमा ब्रत बस्ने आर्यतारा ब्रत व्यवस्थापन तदर्थ समितिका सल्लाहकार शान्तराज महर्जनले बताउनुभयो ।

तारा ब्रतमा उपत्यकाका विभिन्न ठाउँबाट लगभग ७ सय जना ब्रतालुहरु सहभागी भएका छन् ।